विशेष अनलाइन। साइकोलोजिकल थ्रिलर जनराको नयाँ नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त एक विशेष पूजासहित काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सम्पन्न भएको छ।
चलचित्रका कलाकार तथा प्राविधिकहरूका साथमा आयोजित शुभमुहूर्त कार्यक्रममा निर्माण पक्षले फिल्मको छायाङ्कन यही जेठ २२ गते बिहीबारबाट सुरु हुने जानकारी दिएको छ। राजधानी भित्रका विभिन्न स्थानमा छायाङ्कन हुने यो फिल्मका लागि २० दिने छायाङ्कन तालिका तय गरिएको छ।
फिल्ममार्फत बलिराम चौहानले निर्देशन यात्रा सुरु गर्न लागेका छन्। स्काइफल पिक्चर्सको ब्यानरमा बन्ने यो फिल्मका सह-निर्माता रमन ग्रे रहने छन्। नरेन्द्र मैनाली छायाङ्कन निर्देशनमा रहनेछन्।
अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी जस्ता चर्चित कलाकारहरूको अभिनय रहने चलचित्र ‘द ब्ल्यू लाइट’लाई एक रोमाञ्चक, गहिरो मनोवैज्ञानिक अनुभव दिने उद्देश्य राखिएको छ।
कथावस्तु अहिले गोप्य राखिएको भए पनि निर्देशक चौहानले समयक्रममा प्रचार सामग्रीमार्फत खुलासा गर्दै लैजाने बताएका छन्। “हामी दर्शकले मन पराउने, फरक स्वादको चलचित्र बनाउँदैछौं,” उनले भने, “यो हाम्रो लागि खास परियोजना हो, जुन सन् २०२५ भित्रै रिलिज हुनेछ।”
Discussion about this post