विशेष अनलाइन । “हामी कलाकार त केवल बहाना हौं,” चर्चित कलाकार तथा निर्माता दीपकराज गिरीले सामाजिक संजालमा यस्तो शब्द लेख्दा, त्यसमा केवल कलाकारको पीडा मात्र होइन, समग्र समाजको गहिरो समस्या उजागर भएको देखिन्छ।
गिरीले आफ्नो अनुभव सुनाउँदै भनेका छन्, “दशैंमा हाम्रो फिल्म चल्दा सामाजिक सञ्जालमा ‘यो फिल्म नहेरौं’ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छु।” त्यो आवाज समयसँगै केवल उनीमाथि मात्रै सीमित रहेन, प्रकाश सपूत हुँदै सुरक्षा पन्तसम्म फैलियो।
तर गिरीले महसुस गरेका छन् — बहिष्कारको बहाना फरक भए पनि, मानसिकता एउटै छ। “कसैले कसैको तारिफ गरे बहिष्कार, कसैले नगरे पनि बहिष्कार। बहिष्कारै बहिष्कार!” उनले लेखेका छन्।
यससँगै उनले अहिलेको सामाजिक अवस्था तर्फ औँल्याउँदै थपे, “राजावादीले गणतन्त्रवादीलाई बहिष्कार गर्छन्, गणतन्त्रवादीले राजावादीलाई। एउटा विचार राख्नेले अर्को विचार राख्नेलाई बहिष्कार गर्छ। समूहहरूले समूहलाई बहिष्कार गर्छन्।”
दीपकराजको बुझाइमा आजको समाजले सहिष्णुताको बाटो बिर्सँदै, बहिष्कारलाई परम्परा जस्तै अँगाल्न थालेको छ। सानो मतभेदमा पनि संवादको ठाउँ छैन, बरु अस्तित्व नै अस्वीकार गर्ने प्रवृत्ति मौलाउँदै गएको छ।
गिरीको शब्दहरूमा केवल व्यक्तिगत पीडा होइन, एक कलाकारको दृष्टिकोणबाट समाजमा गहिरिँदै गएको असहिष्णुता र विघटनको चिन्ताको आवाज सुनिन्छ।
उनको यो अभिव्यक्ति आजको समाजलाई ऐनाजस्तै हो — जहाँ फरक सोच्नेलाई ठाउँ छैन, जहाँ बहसभन्दा बहिष्कार सजिलो विकल्प बन्न थालेको छ। दीपकराज गिरीको यी शब्दले प्रश्न उठाउँछ : के हामी विविधतालाई स्वीकार्न सक्ने समाज बन्ने कि बहिष्कारलाई परम्परा बनाउँदै जाने?
Discussion about this post