विशेष अनलाइन । जोन राईले निर्देशन गरेको चलचित्र ‘बम बहादुर’ को टिजर सार्वजानिक भएको छ । सार्वजानिक ट्रेलरमा सस्पेन्स, थ्रिलर र सोसल ड्रामा समेटिएको छ । अभिनेता सौगात मल्लको मुख्य अभिनय रहेको चलचित्र ‘बम बहादुर’ आगामी पुस ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
सन्देशमूलक र ऐतिहासिक कथावस्तुको यो चलचित्रले भारतको दार्जिलिङ पहाड र डुअर्समा बसोबास गर्ने नेपाली भाषी समुदायको संघर्षलाई चित्रण गरेको छ । सन् १९८० को दशकमा भएका घटनामा कथावस्तु आधारित रहेको जनाइएको छ । निर्देशक जोन राईले यो चलचित्रलाई डिजिटल दस्तावेजको रुपमा उल्लेख गरे । चलचित्रमा रहस्य, कौतुहलता, प्रेम र सामाजिक कथावस्तु उल्लेख रहेको उनको भनाइ छ ।
बिष्ट ब्रदर्स फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटीको अभिनय रहेको छ ।चलचित्रका निर्माता सञ्जीव सार्की हुन् ।
चलचित्रमा निर्देशक जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको छ । चलचित्रलाइ सुजोय कुमार घोष ‘मुन्ना’ले छायाङ्कन , ज्ञान गुरुले सम्पादन गरेका हुन् । चलचित्रमा दीपङ्कर सिंह मुखियाको गीत तथा सङ्गीत , इजाज अलीको म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर रहेको छ ।।प्रोड्युसर प्रकाश हमाल लाइन प्रोडुसर रहेको चलचित्र रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ । पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियो रहेको छ ।
Discussion about this post