विशेष अनलाइन । करिब दश वर्ष अघि निर्माण भएर प्रदर्शनमा आएको चलचित्र मिराज अब दर्शकहरूले युट्युबमा हेर्न पाउने भएका छन् । बुद्ध इन्टरनेशनल फिल्म्सको प्रस्तुति रहेको मिराज लाई प्रकाश सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । वाल मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको मिराजले शिक्षित र गरिबी युवाहरूमा भएको बेरोजगारीले निम्त्याएको निराशा देखाएको छ ।
चलचित्रमा युवाहरू कुलतमा कसरी फस्छन् रु उनीहरूले किन आत्महत्याको बाटो रोज्न बाध्य हुन्छन् रु लगायतका विषयवस्तुलाई निर्देशक सुब्बाले गज्जबले प्रस्तुत गरेका छन् । मिराज इटहरी र धरान आसपासमा छायाङ्कन गरिएको थियो । चलचित्रले कलेजका युवाहरूले अध्ययन पश्चात् प्रमाण पत्र हातमा भएर पनि जागिर नपाएकाको समस्यालाई पेस गर्छ । चलचित्रलाई विभिन्न सिनेमा हलमा प्रदर्शन, च्यारिटी शो र स्पेसल शो पछि युट्युबमा अपलोड गरिएको हो ।
एफोए इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमा अपलोड भएको चलचित्र मिराज एक घण्टा २७ मिनेट को छ । प्रकाश सुब्बा र अशोक चेम्जोङले संयुक्त रूपमा निर्माण गरेको मिराजका कार्यकारी निर्माता आयुब केसी र दिनेश कोइराला हुन् । चलचित्रमा अशोक चेम्जोङ, केशब रायमाझी, शिशिर सुबेदी, कविता गेलाल, तिर्थ यक्सो, दिनेश कोइराला लगायतको अभिनय रहेको छ ।
चलचित्रको छायाङ्कन प्रकाश सुब्बा स्वयंले गरेका हुन् । चलचित्रमा सुवास देवकोटाको सम्पादन,सन्ध्या श्रेष्ठ र रोशन पराजुलीको कोरियोग्राफी ,बिरु लामाको द्वन्द्व र बलराम समाल र मनोज मोतेको सङ्गीत रहेको छ ।
Discussion about this post