विशेष अनलाइन । प्रहरी हिरासतमा रहेका निर्देशक सुदर्शन थापा थप २ दिन हिरासतमै रहने भएका छन् । थापालाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको बताइएको छ । निर्देशक थापा ‘प्रसाद २’को आर्थिक लेनदेनबारेको मुद्दामा पक्राउ परेका थिए ।
अदालतले २ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।
निर्देशक थापा सोमबार दिउँसो चलचित्र ‘रावायण’को छायांकनका समयमा सेटबाटै पक्राउ परेका थिए । पक्राउपछि उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको थियो ।
कुनै सल्लाह र मञ्जुरीबिना चलचित्रलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।
निर्देशक थापा पक्राउपछि चलचित्र ‘रावायण’को छायांकन रोकिएको छ ।
Discussion about this post