विशेष अनलाइन । नेपाली चलचित्र नगरीमा एक पछि अर्को सफल चलचित्र दिन सफल नाम खोज्ने हो भने कमै मात्र भेटिन्छन् । तिनै थोरै सफल नामहरू मध्यका नाम हुन् दीपकराज गिरी र दीपाश्री निरौला । यो जोडी मनोरञ्जन दुनियाँको लक्की जोडी हो भन्दा फरक पर्दैन । दीपक र दीपाको यो जोडी सुरुवातमा रेडियोमा निकै जमेको जोडी हो । रेडियो कार्यक्रम रामबिलास र धनियाँलाई नेपाली श्रोताले अत्यन्तै रुचाएका थिए ।
रेडियोमा जमेको रामबिलास र धनियाँ पछि विभिन्न सङ्घर्ष गर्दै सानो पर्दामा दीपक दीपा नामले नै परिचित बन्यो यो जोडी । टेलिचलचित्र तितो सत्य नेपाली दर्शकको रोजाइमा पर्यो । यो जोडीले तितो सत्य मार्फत लामो समय दर्शक हँसाउन सफल भए । समसामयिक विषयहरूमाथिको तितो व्यङ्ग्य प्रस्तुतिका कारण पनि लामो समय सानो पर्दामा यो जोडी जम्न सफल भएका थिए ।
सानो पर्दाबाट एक खुड्किलो माथि उक्लिँदै गर्दा दीपक दीपा सहितको एउटा टिमले नेपाली चलचित्र नगरीको दृष्टिकोण नै परिवर्तन गर्न सफल भयो । पहिले नेपाली चलचित्रमा कमेडी कालाकारहरूलाई चटनीकारुपमा प्रस्तुत गरिँदै आएको अवस्थामा कमेडी कलाकार नै चलचित्रको मुख्य पात्र भएर चलचित्र निर्माण गर्न सकिन्छ भन्ने उदाहरण यही जोडीले नै प्रस्तुत गरेको थियो । चलचित्र छ एकान छ निर्माण गर्दै नेपाली चलचित्र निर्माणमा पाइला चालेको यो जोडीले त्यस यता पछाडि फर्किएर हेर्नुपरेको छैन ।
यो जोडीले छ एकान छ पछि वडा नम्बर ६, छक्का पञ्जा,छक्का पञ्जा २, छक्का पञ्जा ३, छ माया छपक्कै हुदै छक्का पञ्जा ४ सम्मको सफल यात्रा गरिसकेको छ । आफ्नै चलचित्रले बनाएको रेकर्ड आफ्नै चलचित्रले तोड्न सफल भएका छन् । फाल्गुण १९ गतेबाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ४ ले अहिले पनि उत्साहजनक व्यापार गरिरहेको छ । देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि चलचित्रको माग बढिरहेको छ । यो जोडीले मनोरञ्जन नगरीमा झन्डै ३० वर्षको सहकार्य गरिसकेको छ । आज हामीले तिनै ३० वर्ष सहकार्य गरेका दीपक राज गिरीको नजरमा दीपाश्री निरौला कस्ती छन् भनेर बुझ्ने प्रयास गरेका छौँ ।
दीपाश्री निरौला नाम सुन्दा तपाईँको दिमागमा आउने कुरा भन्दिनुहोस् न
दीपा बिनाको दीपक अधुरो छ । दीपा साथमा भएकै कारण आज दीपकले यो स्थान हासिल गर्न सफल भएको छ । दीपा पर्दाभित्रको मेरो सबै थोक हो र पर्दा बाहिर एउटा असल साथी हो । झन्डै ३० वर्षको सहकार्यले हामीलाई यो उचाइ दिएको छ । साथमा दर्शकको अपार माया त छदै छ । दर्शकले यो जोडीलाई रुचाइदिएकै कारण रेडियोबाट सुरु भएको यो सहकार्य आज ठुलो पर्दासम्म आइपुग्दा सफल नै रहेको उनुभुति हुने गरेको छ ।
३० वर्षे सहयात्रामा तपाईँले चिनेकी दीपाश्री ?
मन सफा छ । अर्काको दुखमा कहिले पनि हाँस्न रमाउन नसक्ने मान्छे हुन् दीपा । सानो खुसीमा पनि दिल खोलेर रमाउन सक्ने, कसैसँग गुनासो भए मनमा नराख्ने त्यसलाई तुरुन्त व्यक्त गर्ने गर्छिन् । मनमा कुनै खोट नभएको । कलाकारका हिसाबमा जस्तो भूमिकालाई पनि सरल तरिकाले निर्वाह गर्न सक्ने । निर्देशकिय क्षमता भएकी छन् । उनी खुसी हुँदा रुन्छिन् अनि दुखी हुँदा पनि रुन्छिन् ।
लामो सहकार्यमा मतभेद भएर एक आपसमा मनमुटाब हुने कत्तिको हुन्छ ?
सहकार्यमा मतभेद नै भएन भने काम गरेको नतिजा उत्कृष्ट नआउन पनि सक्छ । सँगै काम गरेपछि सधैँ राम्रो मात्रै हुन्छ भन्ने हुँदैन । कहिलेकाहीँ मनमुटाब पनि नभएको हैन । तर, मनमुटाबलाई कहिले पनि हामीले ठुलो बन्न दिएनौँ । हामी विवाद गर्थिउ र गर्छौ पनि । अनि त्यो विवादबाट सकारात्मक निचोड निकाल्छौँ । धेरै पहिला देखिको प्राक्टिस नै यहि हो । एक अर्कासँग ठुस्किएर धेरै पटक सँगै काम गरेका छौँ । कहिलेकाहीँ त यति ठुलो झगडा (भनाभन) हुन्थ्यो की भोलिबाट सँगै काम गर्न सक्दिन भनेर छाडेको पनि उदाहरणहरू धेरै छन् । तर एक अर्काले गल्ती स्विकार्दै पुन काममा फर्किएका छौँ । सायद त्यो अवस्था नभएको भए आज दीपक दीपाको अवस्था यो नहुन पनि सक्थ्यो ।
दीपासँगको सहकार्यले तपाईँमा आएको परिवर्तन ?
आज दीपक राज गिरीलाई सफल बनाउन कसैको महत्त्वपूर्ण हात छ भने त्यो दीपाको नै हो, मरा लागि त्यो भन्दा ठुलो परिवर्तन के हुन सक्ला र ? व्यक्तिगत रूपमा पनि दीपाको सङ्गतले मेरो जीवनमा धेरै परिवर्तन ल्याएको छ । कसैको मतलव नगरी आफ्नै शैलीमा हिड्ने स्वभावको मलाई दीपाको सङ्गतले सहकार्य गर्न सिकाएको छ । टिममा काम गर्दा सफल भइन्छ भन्ने पाठ सिकाएको छ । कुनै पनि काम गर्नु पुर्व सल्लाह गरेर गरेको काम राम्रो हुन्छ भन्ने पाठ सिकेको छु । त्यस्ता धेरै कुरा छन्, जसले मलाई परिवर्तन हुन बाध्य बनाएको छ र त्यसको रिजल्ट सकारात्मक आएको छ ।
दीपक दीपा रियल जोडी हुन् भन्ने कुराको खण्डन कसरी गर्नुहुन्छ ?
सुरु सुरुमा चै यसको खण्डन धेरै गरियो । यस कुराले मलाई भन्दा धेरै समस्या दीपालाई भएको थियो जस्तो लाग्छ । कतिपयले सहकार्य टुटाउन मुल मन्त्र नै त्यस्तै विभिन्न हल्लाहरूलाई मलजल नगरेका पनि हैनन् । कुरा काट्नेहरूले काटिरहे हामी अघि बढी रहियौँ । सो हल्लाको असर काममा कहिले पनि पर्न दिएनौँ । बिस्तारै त्यस्ता हल्लाहरू सामान्य लाग्न थाल्यो । अहिले त त्यस्ता हल्लाहरू सुनिएन भने पो अचम्म लाग्छ । दर्शकको गाली नखाएको सायद दिन छैन । तर, मलाई यो कुरा पनि राम्रोसँग थाहा छ हामी जसलाई धेरै माया गछौँ, उसैबाट अपेक्षा राख्छौँ र गाली पनि उसैलाई गछौँ ।
दीपाश्री निरौलाका एक एक ओटा सकारात्मक र नकारात्मक पक्ष केलाउनुपर्दा ?
सकारात्मक कुरा धेरै छन् भने नकारात्मक सीमित छन् । त्यसमा पनि केलाउनै पर्दा दीपाश्रीमा बहुमुखी प्रतिभाको क्षमता छ । अभिनय,निर्देशन, गायन साथै सबैलाई लिड गरेर अघि बढ्न सक्ने क्षमता दीपाजीमा छ । यता नकारात्मक पक्षको कुरा गर्दा अलि चाँडो रिसाउने बानी छ रिसाइसकेपछि नियमित अवस्थामा फर्किन कहिलेकाहीँ दुई तिन दिन नै पनि लाग्ने गरेको छ ।
दीपक दीपाको जोडी र हरिवंश मदनकृष्णको जोडीमा फरक के छ ?
यो तुलना नै नहुने कुरा हो । मह जोडी हास्य बिधाको मात्र नभएर मनोरञ्जन नगरीको एउटा उदाहरण हो । जुन उदाहरण दिन पाउँदा हामी स्वयम गर्भ महसुस गर्ने गर्छौँ ।
- प्रस्तुति -मनोज दाहाल
Discussion about this post