बिशेष अनलाइन । समय यस्तो थियो,हप्ता दिन पुरा भएर शुक्रवार आइपुग्दा ४ वटा सम्म चलचित्रहरु प्रदर्शनका लागि तछाड मछाड हुने गथ्र्यो । प्रदर्शनमा आएका धेरै चलचित्रहरु असफल साबित भए पनि थोरैमा पनि हप्ता २ वटा सम्म चलचित्र प्रदर्शनमा आउने गर्थे । एउटामात्र चलचित्र प्रदर्शन भएको खण्डमा चलचित्र निर्माता तथा निर्देशकहरु आफुलाई भाग्यमानी मान्ने सम्मको अवस्था थियो । चलचित्र निर्माता, निर्देशक तथा चलचित्रमा अभिनित मुख्य कलाकारहरु आफ्नो चलचित्रको प्रचार प्रसारका लागि देश दौडाहमा निस्किने परम्परा नै बसेको थियो । कलाकारहरु दर्शकको साथमै बसेर चलचित्र हेर्ने र प्रत्यक्षरुपमा दर्शकबाट प्रतिकृया लिने सम्मका कार्यहरु हुने गथ्र्यो भने प्रदर्शनमा आएका केही चलचित्र सफल हुन्थे र निर्माण युनिटसँगै अन्य चलचित्रकर्मी तथा शुभचिन्तकहरुको साथमा चलचित्र सफल भएको उपलक्षमा खुशी आदान प्रदान गर्ने नेपाली चलचित्र नगरीको एउटा सकारात्मक कार्य थियो ।
नयाँ शाल,दशै तिहार,बिदाको समय तथा अन्य साना चाडपर्वहरुमा चलचित्र प्रर्दशनका लागि ठुला व्यानरका चलचित्र निर्माताहरु बिचमा नै तछाड मछाड,भनाभन, दोसारोपाण सम्मका कृयाकलापहरुले स्थान पाउने गरेको थियो । यति सम्म कि कतिपय चलचित्रकर्मीहरु आफ्नो चलचित्रलाई सफल बनाउने भन्दा पनि अर्काको चलचित्रलाई असफल कसरी बनाउन सकिन्छ ? भनेर समय खर्चिने गरेका उदाहरणहरु पनि प्रसस्त मात्रमा देख्न सकिन्थ्यो । कलाकारहरु बिचमा पनि छुट्टै प्रतिष्पर्धा हुने गरेको थियो । चलचित्र वितरकहरुको राजनिति,हल सञ्चालक र चलचित्रकर्मी बिचको बिवाद लगायतका बिविद कुराहरुले चलचित्र नगरीलाई चलायमान बनाउने गरेको थियो । निर्माण भएका कतिपय चलचित्रहरुले नेपालका साथसाथै नेपाल भन्दा बाहिरका बिभिन्न देशहरुमा समेत सफल प्रदर्शन गर्ने गरेका थिए ।
तर, आज समय परिवर्तन भएको छ । सबै कुराहरु सामान्य बन्दै गए पनि नेपाली चलचित्रको भविस्य यस्सै भन्न सक्ने अवस्था छैन । हिजो चलचित्र प्रदर्शनका लागि तछाड मछाड गर्ने चलचित्र निर्माता तथा निर्देशकहरु अहिले चलचित्र नगरीकै बिकल्प खोज्नमा ब्यस्त छन् । हिजो चलचित्र प्रदर्शनबाट राम्रो आर्थिक संकलन गर्न सफल धेरै चलचित्र भवनहरु सधैका लागि बन्द भएका छन् । कतिपय बन्द हुने अवस्थामा छन् । कतिपय चलचित्रकर्मीहरु पेशा नै परिवर्तन गर्न बाध्य भएका छन् । थोरै चलचित्रकर्मी यस्ता पनि छन्, जो चलचित्र नगरी पहिलेकै अवस्थामा फर्किएला र पुन चलचित्र निर्माणलाई निरन्तरता दिने आसा सहित प्रतिक्षा गरेर बाटो हेरिरहेका छन् ।
अझै पनि कोरोना भाइरसको त्रास सकिएको छैन । सबै क्षेत्र बिस्तारै सामान्य बन्दै गएको भए पनि शिक्षा क्षेत्र र चलचित्र क्षेत्रमा अन्योलता कायम नै छ । हुन त भोलीबाट श्वास्थ्य मापदण्डको पालना गर्दै हल सञ्चालन गर्न दिइने सरकारले निर्णय गरिसकेको छ । यो प्रयास कोरोनाको दोस्रो भेरियन्ट सुरु हुनुभन्दा पहिला पनि नगरिएको हैन । तर, उपलब्धी शून्य नै भयो भन्दा फरक पर्दैन । सरकारले नेपालमा तेस्रो भेरियन्टको खतरा रहेको बताइसकेको छ । सर्वत्र त्रास कायम नै रहेका बेला चलचित्र हल सञ्चालनमा ल्याउनैपर्छ भनेर दवाव दिनु सही तर्क हुन नसक्ने चलचित्र बिकास बोर्ड अध्यक्ष दायाराम दाहाल बताउँछन् । “ जोखिम अझै कायम छ । यस्तो अवस्थामा चलचित्र हल खोल्नै पर्छ भन्नु गलत हुन्छ । हल सञ्चालन भए पनि मानिस चलचित्र हेर्न आउने अवस्था छैन । त्यसैले यस्तो परिस्थितिमा चलचित्र हल खुलाए पनि त्यसको कुनै औचित्य छैन ।” बिकास बोर्ड अध्यक्ष दाहालले भने ।
यस समयमा चलचित्रकर्मी बिचमा नै एकले अर्काको मुख ताक्ने अवस्था देखिएको छ । ठूलो ब्यानरका चलचित्र सुरुमा रिलिज हुन तयार नहुने र सानो ब्यानरका चलचित्रले दर्शकलाई हलसम्म तान्न सक्ने अवस्था न्यून देखिन्छ । ठुलो ब्यानरका चलचित्र निर्माताले पनि यस्तो अवस्थामा हिन्दी चलचित्रको मुख ताक्ने गरेका छन् । हिन्दी चलचित्र हलमा लागिदिए दर्शक हलसम्म आउने र बिस्तारै अवस्था सामान्य बन्दै गएपछि अफ्ना चलचित्र प्रदर्शन गर्ने चलचित्र निमार्ता निर्देशकको सोचले पनि नेपाली चलचित्र नगरी सहजै सामान्य बन्ने अवस्था देखिदैन ।
चलचित्र विकास बोर्डका अनुसार हाल सम्म ६४ वटा चलचित्रहरु होल्ड छन् । यी चलचित्रमा भएको लगानी सुरक्षित गर्दै निर्माताहरूलाई यही क्षेत्रमा टिकाइरहनु अहिलेको सबैभन्दा ठुलो चुनौती देखिएको छ । चलचित्र नगरीका लागि राज्यस्तरबाट हुनुपर्ने सहयोग हुन नसकेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको भनाइ छ । सरकारले नेपाली चलचित्र नगरीलाई क्षणिक भए पनि सहयोग गर्नुपर्छ, चलचित्र नगरीको पुनरउत्थान र सहुलियत कर्जा उपलब्ध गराउने वातावरण निर्माण गरेको खण्डमा छोटो समय भित्रमा चलचित्र नगरीलाई पहिलेकै अवस्थामा पुर्याउन सकिने अध्यक्ष अधिकारीको बुझाई छ । चलचित्र नगरीका लागि बजेटमा उठाइएका कुराहरुलाई कार्यान्वयन गर्नुका साथै छुट भएका कुराहरुलाई पुनर्बिचारका लागि सरकारी ढोका ढकढक्याइरहेको अध्यक्ष अधिकारी बताउछन् ।
हुन त कोरोना संक्रमणको जोखिम कम हुदै गएपछि सुरुवातमा प्रदर्शनमा आउने चलचित्रलाई सरकारले सहयोग गर्ने घोषणा गरेको छ । हल खुलेपछि सुरुमा प्रदर्शनमा आउने चलचित्रलाई चलचित्रको लगानी हेरेर सरकारले १० लाख रुपौयाँदेखि १५ लाख रुपैयाँसम्म सहयोग गर्ने तयारी गरेको छ । ‘प्रेम गीत ३’, ‘म यस्तो गीत गाउँछु २’, ‘चपली हाइट २’, ‘पानीफोटो’, ‘लक्का जवान’लगायत चलचित्र पहिलो चरणको लकडाउन अगाडि नै निर्माण भइसकेका चलचित्र हुन् । तर, निर्माण भइसकेका चलचित्रहरु पनि सुरुवातमै प्रदर्शन गर्ने पक्षमा देखिएका छैनन् । करोडौको लगानीमा निर्माण भएका चलचित्रहरुलाई त्रास नसकिदै प्रदर्शनमा ल्याउनु बालुवामा पनि हुने निर्माता तथा निर्देशकहरुको बुझाई छ ।
नेपाल चलचित्र संघको तथ्यांकानुसार कोरोना संक्रमणको त्रास सुरु भएयता २८ वटा चलचित्र हल बन्द भइसकेका छन् । तर, यो विसम परिस्थितिमा हल बन्द हुनेमात्र हैन नयाँ हल निर्माण हुने क्रम पनि जारी नै रहेको छ । काठमाडौंमा मात्रै आधा दर्जन चलचित्र हल निर्माण भइरहेको नेपाल चलचित्र संघले जनाएको छ । संघका महासचिव अशोक शर्माका अनुसार उपत्यकामा बानेश्वर, कालीमाटी, कीर्तिपुर लगायतका स्थानमा चलचित्र हलहरू निर्माण भइरहेका छन् । बालाजुमा मात्रै ६ वटा चलचित्र हल निर्माण भइरहेका छन् भने उपत्यका बाहिरका पोखरा, दमौली, नेपालगन्ज,धरान लगायतका सहरहरुमा पनि चलचित्र हल निर्माण भइरहेको संघका महासचिव अशोक शर्माको भनाई छ ।
बन्द सँगसगै खुल्दै गरेका चलचित्र हलहरुको शंख्या बढ्दै जानु,केही ठुला ब्यानरका चलचित्रहरु निर्माण भइसकेर प्रदर्शनको प्रतिक्षामा रहनु, केही ठुला ब्यानरका चलचित्र निर्माणको सुरुवात हुनुले पनि नेपाली चलचित्र नगरी ढिलो चाडो पुरानै लयमा फर्किनेमा आशा गर्न सकिन्छ । हालको अवस्थामा यत्ति नै आशा गरौँ, “खुल्नेछन् चलचित्र हल,चल्नेछन् चलचित्र”
Discussion about this post