विशेष अनलाइन । माइकल चन्दको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘राम नाम सत्य’को औपचारिक शुभमुहुर्त सम्पन्न भएको छ। बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै चलचित्रको शुभारम्भ गरिएको हो। निर्माण टिमका अनुसार छायांकन केही दिनमै काठमाडौंमा सुरु हुने छ भने केही भाग चितवनमा पनि छायांकन गरिने छ।
शुभमुहुर्त कार्यक्रममा निर्देशक माइकल चन्दले ‘राम नाम सत्य’ आफ्नो सपनाको चलचित्रमा भएको बताउँदै भावुक भएका थिए। नायक विराज भट्टले भने ‘१२ गाउँ’पछि यस चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताए र कथावस्तु निकै सशक्त रहेको उल्लेख गरे। त्यस्तै, कलाकार सुशील श्रेष्ठले पनि फिल्म उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्दै दर्शकको साथको अपेक्षा राखेका छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा तयार हुन लागेको यस चलचित्रलाई नयाँ वर्षको अवसर पारेर चैत्र २७ गते सार्वजनिक गर्ने योजना बनाइएको छ। शुभमुहुर्तकै दिन नायक विराज भट्टको पहिलो लुक्स पोस्टर सार्वजनिक गरिएको छ, जसमा उनी एङ्ग्री अवतारमा देखिएका छन्। पोष्टरमार्फत भट्टको एक्सन छवि झल्काइएको छ।
चलचित्रमा विराज भट्टसँगै सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसी लगायत कलाकारको अभिनय रहनेछ। चलचित्रको निर्माण उपेन्द्र शाही र स्वेता विमलीले गर्दैछन् भने कार्यकारी निर्माता किशोर भट्ट र डा. डी आर उपाध्याय हुन्।
कथा तथा पटकथा निर्देशक माइकल चन्दकै रहेको यस चलचित्रमा संजय लामाको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत रहनेछ। कोरियोग्राफी विक्रम स्वाँर र सियोन श्रेष्ठले गर्नेछन्। क्रियटिभ निर्देशक निरज ठकुरी, कास्टिङ निर्देशक नविन जंग शाही, कलरिस्ट राजेन्द्र मोक्तान र पोस्टर डिजाइन विजय बस्यालको रहनेछ।
चलचित्रको प्रोडक्सन टिममा मोती कार्की क्रियटिभ निर्माता, राजेन्द्र आचार्य लाइन प्रोड्युसर, अभिमन्यू निरवी र समय थापा स्क्रिप्ट कन्सल्ट्यान्ट, विदुसी थापा प्रोडक्सन डिजाइनर, तेज विक्रम केसी प्रोडक्सन म्यानेजर र सम्झना राई मेकअप आर्टिस्टका रुपमा छन्।









Discussion about this post