विशेष अनलाइन। नेपाली सिनेमा क्षेत्रमा नयाँ चलचित्र ‘आ बाट आमा’ निर्माणको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस चलचित्रमा अभिनेता पल शाहको अपोजिटमा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छिन्।
सोमबार एक औपचारिक कार्यक्रमबीच निर्माण युनिटले सिमरनलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरेपछि फिल्मको प्रमुख कलाकारको टुंगो लागेको हो। ‘होस्टेल ३’ मार्फत नेपाली रजतपटमा पाइला टेकेकी सिमरनको यो दोस्रो चलचित्र हो ।
निर्देशक चन्द्र पन्त यसअघि ‘माई’ र ‘ह्रस्वदीर्घ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्। यिनै निर्देशकको फिल्म ‘ह्रस्वदीर्घ’ मार्फत अभिनेत्री विपना थापाले १६ वर्षपछि पर्दामा कमब्याक गरेकी थिइन् र अब उनी पुनः पन्तकै निर्देशनमा काम गर्न लागेकी छन्।
चलचित्रमा भारतीय अभिनेता प्रदीप रावतको समेत उल्लेखनीय भूमिका रहनेछ। उनी यसअघि ‘ह्रस्वदीर्घ’ मा अभिनेत्री नीता ढुंगानाका पिताको भूमिकामा देखिएका थिए भने यसपटक ‘आ बाट आमा’ मा उनले अभिनेता पल शाहका बुबाको भूमिका निर्वाह गर्नेछन्। रावत तेलुगु, हिन्दी र तमिल चलचित्र उद्योगमा आफ्नो अभिनय क्षमता स्थापित गराइसकेका अनुभवी कलाकार हुन्।
आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रको छायांकन आगामी भदौ महिनाबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। केही समयअघि सार्वजनिक भइसकेको थिम पोस्टरले पनि दर्शकमाझ उत्सुकता बढाइदिएको छ।
निर्देशक पन्तका अनुसार चलचित्र ‘आ बाट आमा’ आगामी फागुन १५ गतेबाट देशभर प्रदर्शनमा आउने पक्का भइसकेको छ। निर्माण टिमले छिट्टै अन्य कलाकार र प्राविधिक टिमको औपचारिक घोषणा पनि गर्ने तयारी गरिरहेको छ ।









Discussion about this post