विशेष अनलाइन । नेपाली चलचित्र जगतको बहुप्रतिक्षित सिक्वेल ‘छ माया छपक्कै २’ को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ। निर्माण युनिटले दिएको जानकारी अनुसार बुधबारदेखि काठमाडौँको गागलफेदीबाट चलचित्रको सुटिङ कार्य आरम्भ गरिएको हो। सन् २०१९ मा बक्स अफिसमा निकै सफल साबित भएको ‘छ माया छपक्कै’ को दोस्रो शृङ्खलाका रूपमा यो चलचित्र निर्माण हुन लागेको हो।
यस पटक पनि चलचित्रको निर्देशनको जिम्मेवारी दीपेन्द्र लामाले सम्हालेका छन्। सामाजिक र राजनीतिक कथावस्तुलाई मुख्य आधार बनाएर निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन तालिका ५० दिनको तय गरिएको छ। निर्माण पक्षले कथालाई अझ परिपक्व र रोचक बनाउन लामो समय गृहकार्य गरेको बताएका छन्।
चलचित्रमा कलाकारहरूको अभिनयलाई लिएर पनि निकै चर्चा छ। यसपटक मुख्य भूमिकामा अभिनेता दीपकराज गिरी, अभिनेत्री केकी अधिकारी र सनिशा भट्टराई देखिनेछन्। यी कलाकारहरूको अभिनयले चलचित्रको सामाजिक–राजनीतिक मुद्दालाई जीवन्त पार्ने अपेक्षा गरिएको छ। विशेषगरी दीपकराज र केकीको जोडीलाई पुनः पर्दामा हेर्न दर्शकहरू उत्साहित देखिएका छन्।
रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मूभिजको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका निर्माता रोहित अधिकारी हुन्। आइएमई प्रस्तुतकर्ता रहेको यस चलचित्रले निर्माण घोषणादेखि नै बजारमा राम्रो चर्चा बटुल्न सफल भएको छ। निर्माण टोलीले चलचित्र प्रदर्शनका लागि आउँदो वर्षको दसैँलाई लक्षित गरेको छ। गागलफेदीबाट सुरु भएको यो ५० दिने छायाङ्कन यात्राले नेपाली सिनेमा क्षेत्रमा नयाँ उत्साह थपेको छ।










Discussion about this post