विशेष अनलाइन । सङ्खुवासभाको खाम्लिङ क्षेत्रमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद्देश्यले अघि बढाइएको खाम्लिङ खानेपानी आयोजनाको सर्भे कार्य सुरु भएको छ । चलचित्र ‘नाम्लो’ बाट उठेको सहयोग रकमबाट निर्माण हुन लागेको उक्त आयोजनाको सर्भे इन्जिनियर डम्बर लिम्बुको नेतृत्वमा सुरु गरिएको हो ।
चलचित्रका प्रस्तुतकर्ता पूर्ण लिम्बूका अनुसार उक्त खानेपानी आयोजनाका लागि नेपालका विभिन्न स्थान तथा विदेशमा च्यारिटी कार्यक्रममार्फत रकम सङ्कलन गरिएको हो । धरान, इटहरी तथा सङ्खुवासभाको चैनपुर, पोखरी, नुनढाकी, खाम्लिङ लगायतका स्थानका साथै बेलायतका विभिन्न सहरमा च्यारिटी कार्यक्रम आयोजना गरी सहयोग जुटाइएको उनले जानकारी दिए ।
आयोजना सम्पन्न भएपछि खाम्लिङ क्षेत्रका २९५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीयवासीका लागि यो आयोजना महत्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ ।
चलचित्र ‘नाम्लो’को निर्माणमा प्रस्तुतकर्ता पूर्ण लिम्बूका साथै लाखमान योञ्जन र मदन बहादुर राई निर्माता रहेका छन् भने निर्देशन हेमन योञ्जनले गरेका हुन् । चलचित्रमा प्रमुख कलाकारका रूपमा पूर्ण लिम्बू, शान्ती पाख्रीन, सुवास योञ्जन तामाङ, मदन बहादुर राई, दिनेश कोइराला र उदय सुब्बाले अभिनय गरेका छन् ।
कलाको माध्यमबाट सामाजिक सेवामा योगदान दिने उद्देश्यले अघि बढाइएको यो पहललाई स्थानीय समुदायले प्रशंसनीय कार्यका रूपमा लिएको छ । आयोजना छिट्टै निर्माण चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।









Discussion about this post