विशेष अनलाइन । नेपाली चलचित्र ‘माइतीघर’ले प्रदर्शन सुरु भएको केही दिनमै देशभर उत्साहजनक व्यापार गर्दै उत्कृष्ट सफलता हासिल गरिरहेको छ । बडादशैँको फूलपातीका दिनबाट प्रदर्शनमा आएको यस चलचित्रले पछिल्ला दिनहरूमा दर्शकको प्रशंसा र साथ दुवै पाउँदै आफ्नो प्रदर्शनलाई अझै बलियो बनाएको छ । दशैंपछि चलचित्रको व्यापार झनै उचाइमा पुगेको छ । विशेषगरी मंगलवार नेपालगञ्जमा ‘माइतीघर’ले बम्पर व्यापार गरेको छ ।
त्यहाँको सिने रोयल सिनेमा हलमा सातै शो हाउसफुल भएका छन्, जसले चलचित्रप्रतिको दर्शक उत्साह झल्काएको छ । निर्माता रोहित अधिकारी कलाकारहरूसहित सोमवार साँझ नेपालगञ्ज पुगेका थिए । उनका अनुसार आज हल पुगेका धेरै दर्शकहरूले टिकट नै पाउन सकेनन् । स्थानीय दर्शकहरूले काठमाडौंबाट पुगेका कलाकारहरू केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल र निर्देशक मिलन तामाङलाई भव्य स्वागत गरेका थिए ।
नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरीमा पनि चलचित्रले दर्शकको उल्लेखनीय साथ पाइरहेको निर्माता अधिकारीको भनाइ छ । उनका अनुसार देशभर चलचित्रको व्यापार सुखद गतिमा अगाडि बढिरहेको छ र बलियो वर्ड अफ माउथले फिल्मको प्रदर्शन झनै मजबुत बनाइरहेको छ ।
यद्यपि निर्माण पक्षले आधिकारिक व्यापारिक आँकडा सार्वजनिक गरेको छैन, तर फिल्मको सफलता देशभरका चलचित्र हलहरूमा दर्शकको उत्साहबाट स्पष्ट देखिन्छ । मिलन तामाङ निर्देशित यस चलचित्रमा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङदेल लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।










Discussion about this post