विशेष अनलाइन । अभिनेत्री मिरुना मगरले ‘कबड्डी–४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ जस्ता सफल फिल्ममार्फत नेपाली सिनेमा क्षेत्रमा आफूलाई स्थापित गरेकी छन्। अब उनी नयाँ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मार्फत दर्शकमाझ आउन लागेकी छन्। यो फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। मिरुनाले यस फिल्मबाट आफूले दोस्रो हिट ह्याट्रिक बनाउने अपेक्षा राखेकी छन्।
निर्देशक हिमाल न्यौपाने र सह–निर्देशक मनिष राउतको संयोजनमा बनेको फिल्मले नेपाली मध्यम वर्गीय समाजमा गहिरिएर बसिरहेका सम्बन्ध, अस्तित्व र संवेदनाका धागाहरूलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ। सह–निर्देशक राउतका अनुसार, “फिल्म हाम्रो अस्तित्व र भावना गुमाउँदै गएको जीवनको कथा हो।”
चलचित्रमा मिरुनासँगै विजय बराल, केकी अधिकारी, गौरव पहाडी, भोलाराज सापकोटा लगायत चर्चित कलाकारको अभिनय रहेको छ। विशेषगरी विजय बरालका लागि यो ‘पूर्णबहादुरको सारंगी’ पछिको पहिलो मुख्य भूमिका हो, जसले फिल्मप्रति थप चासो र अपेक्षा बढाएको छ।
फिल्मको कथा तथा पटकथा भानुभक्त ढकालले लेखेका हुन् भने संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संयुक्त योगदान छ। सिनेमाटोग्राफी नवीन गुरुङ र कृष्ण परियारले गरेका छन्। फिल्मको निर्माण कमल र विमल न्यौपानेले गरेका हुन् भने वितरण काफिया फिल्म्सले गर्नेछ।
मिरुना मगर यो फिल्मप्रति निकै आशावादी देखिन्छिन्। उनी भन्छिन्, “यो फिल्म गर्दा सकारात्मक ऊर्जा महसुस भइरहेको छ। दर्शकले अवश्य मन पराउनुहुनेछ भन्ने विश्वास छ।”
‘जनै हराएको मान्छे’ सम्बन्ध, संवेदना र आत्मीयताको गहिरो कथासँगै भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।









Discussion about this post