इटहरी / केही दिन अघिमात्र अस्पतालबाट डिस्चार्ज भएका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पुनः अस्पताल भर्ना गरिएको छ । श्रेष्ठको अक्सिजन लेवलमा कमी आएपछि उनलाई पुनः ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
श्रेष्ठ गत आइतबार घर फर्किएका थिए । घरमा भन्दा अस्पतालमा चिकित्सकको निगरानी बढी हुने भएकाले अस्पताल भर्ना गरिएको बताइएको छ । उनको अक्सिजन लेवल ८४ मा झरेको र छातीमा सामान्य इन्फेक्सन समेत देखिएको अस्पतालले पुष्टि गरेको छ ।
उनका परिवारका अन्य सदस्य भने घरमै होम आइसोलेसनमा छन् । यस अघि श्रेष्ठ बैशाख ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । केही कमजोर भएको महशुस भएपछि अस्पतालमा भर्ना भएका श्रेष्ठलाई कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।
घर फर्किए पछी वरिष्ठ हास्य कलाकार श्रेष्ठले भिडियो सन्देशमार्फत् सबैमा सतर्क रहन अनुरोध गरेका थिए । उनले संसारलाई महासंकट परेको दुःखको घडीमा सबैले सबैलाई माया गर्न र राम्रो सोच्न अनुरोध समेत गरेका गरेका थिए।
Discussion about this post