विशेष अनलाइन । लिम्बू समुदायको कथामा आधारित ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न भएको छ । चलचित्र प्रदर्शन अघि पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्ययतामा औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री सुब्बाले विभिन्न समुदायको संस्कृति झल्किने ऐतिहासिक चलचित्रले हराउँदै गएको नेपाली संस्कृतिलाई जगाइराख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेपाल चलचित्रकर्मी महासंघ कोसी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले चलचित्र निर्देशक तथा चलचित्र युनिटको अथक प्रयासपछि उत्कृष्ट चलचित्र निर्माण भएको उल्लेख गर्दै चलचित्र हाँङनान्द निर्माण युनिटलाई शुभकामना दिए ।
चलचित्र निर्माणको उद्देश्य बारे प्रकाश पार्दै चलचित्रका निर्देशक विजय संयोक सुब्बाले लिम्बु जातीको आफ्नै संस्कार संस्कृति भएको विषयमा नव पीढीहरूलाई जानकारी दिन चलचित्र सफल हुने र संस्कार संस्कृतिलाई बचाइ राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा आसावादी रहेको उल्लेख गरे ।
इटहरीको क्यूएफएक्स हलमा राखिएको विशेष सो मा दर्शकको बाक्लो उपस्थिति भएको थियो । सुरुमा क्यूएफएक्सको एउटा हल मात्र रिजर्भ गरिएकोमा दर्शकको अत्यधिक उपस्थितिपछि दोस्रो हल समेत लिएर चलचित्र देखाइएको थियो ।
चलचित्रमा याकथुङ लिम्बू मुन्धुम अनुसार आफ्नै दाजु केसामी (बाघ) लाई उनकै भाइ नाम्सामी (मान्छे) ले मारेको र बाघको छालाबाट के (च्याब्रुङ) बनाएर बजाएको कथालाई उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा दुई दाजुभाइबिच घमासान लडाइँ भइरहेका बेला आमा सेरङ्धङ्नाले केसामीका लागि आन्दाङ फुङ (बाबरी फूल) र नाम्सामीका लागि सेक्मुरी फुङ (सिल्लेरी फूल) जगाएको कथा प्रस्तुत गरिएको छ ।
छैटौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२३ मा सर्वोत्कृष्ट फिचर फिल्ममा मनोनीत हुन सफल भएको चलचित्र हाँङनान्दको नेपालमा काठमाडौँ,धरान, दमक हुँदै इटहरीमा समेत विशेष प्रदर्शन भइसकेको छ भने अन्ताराष्ट्रिय स्तरमा हङ्कङका विभिन्न सहरमा प्रदर्शन भइसकेको छ । केही समय पछि कोरिया, युके, सिक्किम लगायतका क्षेत्रमा पनि चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्रका निर्देशक विजय संयोक सुब्बाले जानकारी दिए ।
धनकुमारी लिम्बुले निर्माण गरेको चलचित्र हाँङनान्दको कथा हेमन्तकृष्ण पाङ्दाक लिम्बुले लेखेका हुन् । चलचित्रमा हेमन्तकृष्ण पाङ्दाक लिम्बु, सिता तुम्बाहाम्फे,चन्द्रध्वज बेगा,नविन मेन्याङ्वो, उदय सुब्बा,बिनोद पोमो,नुमा लिम्बु,उदय लावति,दिलु सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका हुन् भने सम्पादन राजेन्द्र खड्का र चन्दन दत्तले गरेका हुन् ।
Discussion about this post