बिशेष अनलाइन । पछिल्लो समय सामाजिक सञ्जाल टिकटक नेपालीहरुको लोकप्रिय सञ्जाल बनेको छ । कसैले यसलाई समय कटाउने मेलोका रुपमा प्रयोग गर्ने गरेका छन् भने कतिपयले आर्थिक आम्दानी गर्ने उद्देश्यले पनि सामाजिक सञ्जाल टिकटक प्रयोग गर्ने गरेका छन् । नेपालमा टिकटक यति लोकप्रिय बन्यो कि बालक देखि बृद्धसम्मको यसले ध्यान खिच्न सफल भएको छ । यसका साथसाथै नेपाली चलचित्र,म्युजिक भिडियो लगायतका सामाग्री प्रचार प्रसारका लागि त टिकटक महत्वपूर्ण सञ्जाल बन्न पुगेको छ ।
टिकटकले धेरै मानिसहरुलाई सेलिब्रटीका रुपमा स्थापित गरिदिएको छ । बिशेष गरेर गितका म्युजिक भिडियो प्रमोशनका लागि त टिकटक अत्यावस्यक बनिसकेको छ । टिकटककै माध्यमबाट बिभिन्न प्रतियोगिता गराएर आफ्नो गितको प्रमोसन गर्ने प्रवृत्ति पछिल्लो समय निकै आकर्षक बन्ने गरेको छ । यसले टिकटाक बनाउने र म्युजिक भिडियो निर्माण गर्ने दुबै पक्षलाई फाइदा हुने गरेको छ ।
केही समय अगाडी गायिका रचना रिमाल र गायक पुर्ण लिम्बुको स्वरमा रहेको ‘संग संगै’ बोलको गीतमा टिकटक प्रतियोगिता गरिएको थियो । उक्त टिकटब प्रतियोगिताकी बिजेतालाई आज एक कार्यक्रमको आयोजना गर्दै नगद पुरस्कार हस्तान्तरण गरिएको छ । ‘टिकटक बनाउँ दशै तिहार मनाउँ’ भन्ने नारासहित आयोजना गरिएको उक्त टिकटक प्रतियोगिता धनकुटाकी पुजा तामाङले जितेकी हुन् ।
उक्त प्रतियोगितामा सबै भन्दा धेरै लाइक तथा भ्युज प्राप्त गर्ने प्रतियोगिलाई बिजेता घोषण गरिएको गितका गायक पुर्ण लिम्बुले जानकारी दिएका छन् । सोही नियम अनुसार पुजाले देशभरका २२ भन्दा बढी प्रतिष्पर्धीबाट सबैभन्दा बढी लाईक तथा भ्युज प्राप्त गर्न सफल भएकी हुन् । । बुधबार ईटहरीको छानो रेस्ट्रो तथा बेकरीमा पुरस्कार वितरणको आयोजना गरिएको थियो । कार्यक्रममा उनले बिजेताको रुपमा जितेकी १५ हजार नगद पुरस्कार स्वरुप हस्तान्तरण गरिएको थियो ।
पुरस्कार हस्तान्तरण कार्यक्रममा सो भिडियोका गायक तथा संगीतकार पुर्ण लिम्बू, निर्देशक सुमन तामाङ, सम्पादक हेमन तामाङ तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । टिकटक प्रतियोगिता सो भिडियो उत्पादक कम्पनी कोशी भिजनको अफिसियल टिकटक एकाउन्टबाट सार्बजनिक गरिएको थियो ।
‘संग संगै’ को अफिसियल भिडियो ओएसआर डिजिटल युट्युबबाट सार्बजनिक गरिएको छ भने यसको स्टुडियो भर्सन कोशी भिजनको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । गितमा प्रेम कृष्ण बजगाइको शब्द संगीत रहेको छ । गायक पूर्ण र मनिषा सुनुवारले अभिनय गरेको गीतको छायाँकन तथा निर्देशन सुमन तामाङले गरेका हुन्। गितको सम्पादन हेमन तामाङले गरेका छन्।
Discussion about this post