बिशेष अनलाइन । चलचित्र नगरी ठप्प भए पनि पछिल्लो समय चलचित्र नगरीमा निर्माण हुन लागेको चलचित्र ‘एक्स ९’को चौतर्फी चर्चा छ । नेपाली चलचित्र बजार दिनदिनै ओरालो लागिरहेका बेला चलचित्र निर्माण युनिट भने चलचित्रका लागि निडर भएर खर्च गर्न तयार देखिएको छ । चलचित्रका लागि केही मुख्य कलाकारहरुको टुंगो लागे पनि अझै धेरै कलाकारहरुको टुंगो लाग्न सकेको छैन । चलचित्रमा अनमोल केसी, पुष्प खड्का, सौगात मल्ल जस्ता स्टार कलाकारहरु अनुबन्धित भइसकेका छन् । चलचित्रमा लागि महिला कलाकारको टुंगो भने अझै लाग्न सकेको छैन ।
बिशेष त चलचित्रको भिलेनका लागि निर्माण युनिटले बलिउडका नाम चलेका कलाकारलाई प्रस्ताब गरिरहेको छ । चलचित्र ‘एक्स ९’को भिलेन बन्नका लागि बलिउडका स्टार अभिनेता सुनिल सेट्टीलाई प्रस्ताव गरिएको थियो । तर, अभिनेता सेट्टीले महंगो पारिश्रमिक मागेपछि चलचित्र युनिटले सेट्टीलाई साइड लगाउदै अर्का बलिउड स्टार सोनु सुदलाई अफर गरेको बताइएको छ । सोनु साउथ चलचित्रहरुमा अत्याधिक रुचाइएका भिलेन हुन् ।
सोनुसँग औपचारक कुरा हुन बाकी रहेको बताइएको छ । उनीसमक्ष हाम्रो कुरा पुगिसकेको र उनले केही समयपछि निर्णय लिने बताएको चलचित्रका निर्देशक मुकुन्द भट्टले बताएका छन् । निर्देशक भट्टका अनुसार सोनुले पनि चलचित्रमा काम नगरेको खण्डमा चलचित्रका लागि अर्का बलिउड कलाकार नवाजुद्दिन सिद्धिकीलाई अफर गर्ने तयारीमा रहेको वुझिएको छ । चलचित्र गतिविधि ठप्प रहेका बेला चलचित्र ‘एक्स ९’युनिटको यो प्रयासलाई धेरैले चासोका साथ हेरेका छन् ।
Discussion about this post