विशेष अनलाइन । रेडियो, टेलिभिजन लगायतले अब गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने भएको छ । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले रोयल्टी नतिर्ने रेडियो-टिभीलगायतलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ । रोयल्टी नतिर्ने रेडियो, टिभीलाई गीत नबजाउन भन्ने र बजाइयो भने कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी कारबाहीमा जाने संघले निर्णय गरेको संघका अध्यक्ष चेतन सापकोटाले बताए ।
‘रोयल्टी तिरे मात्र गीतलाई सार्वजनिक प्रसारण गर्ने जोकसैले बजाउन पाइयो । कानुन उल्लंघन हुन्छ भने अदालत जाने तयारीमा छौं ’सापकोटाले भने । बैठकले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने भन्ने रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघको निर्णयप्रति पनि आपत्ति जनाएको छ ।
तीन रेडियो सम्बद्ध निकायले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै संगीतकार अधिकारीले फेसबुकमार्फत गालीगलौज गरेको भन्दै उनका सम्पूर्ण सांगीतिक कृति रेडियोबाट प्रसारण गर्न नसकिने निर्णय गरेका थिए ।
Discussion about this post