मनोज दाहाल / वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । श्रेष्ठ विक्रम सम्वत २००७ सालमा काठमाण्डौको जितपुर फेदीमा जन्मिएका थिए । उनको वास्तविक जन्मदिन भने वैशाख ७ गते भए पनि उनले तिथिअनुसार जन्मदिन मनाउने भएका हिसाबले उनको जन्मदिन आज परेको छ ।
वरिष्ठ हास्य कलाकार श्रेष्ठले हास्य व्यङ्ग्यको विकास गर्न र यसलाई सहज बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका छन् । हास्य व्यङ्ग्य क्षेत्रका कलाकारहरुले वरिष्ठ हास्य कलाकार श्रेष्ठलाई नेपाली हास्य व्यङ्ग्य क्षेत्रका पिता मान्ने गरेका छन् । नेपालमा राजनीतिक व्यङ्ग्य गर्न कठिन भएको समयमा मदनकृष्णले हरिवंश आचार्यसँग मिलेर हास्य व्यङ्ग्यको सुरुवात गरेका थिए । हास्य व्यङ्ग्य हालको अवस्थामा आउनुको पछाडि यिनै महजोडिको महत्वपूर्ण योगदान रहेको मानिन्छ ।
उनीहरुले नै त्यस समयको राज्य व्यवस्थालाई झटारो हान्ने हिम्मत गरेका थिए । हाल मदनकृष्ण कोरोना भाइरस सङ्क्रमण भएर उपचार रत छन् । उनको स्वास्थ सुधार उन्मुख रहेको छ ।
कस्तो थोयो बाल्यकाल ?
बाल्यकालमा म अलि अल्लारे र चकचके स्वभावका थिएँ । मलाइ के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुराको जानकारी थिएन । मनमा लागेको कुरा फ्याट्ट गरि पनि हाल्थे । आफ्नो कारणले कोही हाँस्यो भने एकदमै खुशी लाग्थ्यो । कलाकारितामा लाग्छु भनेर धेरैसम्म लागेको थिएन । तर आफ्नो कारणले कोही रमाएको देख्दा खुशी लाग्थ्यो ।
पहिलेदेखि नै कार्यक्रमहरुमा भाग लिने गर्थेँ । स्टेजमा गएर बोल्नेबित्तिकै मानिसहरु हाँस्न थाल्थे । मैलै त क्यारिकेचर गर्नै पर्दैनथ्यो । पछि त यस्तो छाप बस्यो कि मैले हँसाउनै पर्न छाड्यो, मानिसहरु मेरो नामले नै हास्न थाले।
कसरी सुरु भयो कलाकारिता यात्रा ?
सानैदेखि कलाकार हुने चाहाना थियो । तर त्यसबेलाको समयलाई मध्यनजर गर्दा मलाई कलाकारितामा आउँछु जस्तो लागेको थिएन । मलाई हास्य व्यंग्यमा भन्दा धेरै सङ्गितमा रुचि थियो । त्यसैले सुरुवातमा मैले संगीत समेत सिकेको थिएँ । लक्ष्य भने केहि पनि थिएन । साथीहरुको कर र आफ्नै रहरै रहरमा संगीत सिक्न थालेँ तर त्यसलाई निरन्तरता दिन भने सकिन ।
मैले सङ्गीत सिक्दै गर्दा हजुरबुवा बित्नु भयो । त्यसपछि मैले सङ्गीत पनि सिक्नै छाडे । पारिश्रमिक बिनै धेरै समय दर्शक हँसाउने कार्यमा सक्रिय भइयो । त्यस समय हमीलाई धेरैले जोक्करको दर्जामा राखेर हेर्ने गर्थे । तर बिस्तारै समयले गति लिन थाल्यो । विभिन्न कार्यक्रमहरुमा डिमाण्ड आउन थाल्यो । डिमाण्ड अनुसार हसाउन बोलाउथे तर पारिश्रमिक भने दिदैन थिए । पछि हरिवंशसँग सहकार्य गरेको केही समय पछि भने पारिश्रमिक सहित काम गर्न थाल्यौँ दुईजना भए पछि जे गर्न पनि हिम्मत आउन थाल्यो ।
२०३८ सालमा अरुलाई हँसाएर हामीले पहिलो पटक पारिश्रमिक लिएका थियौं । त्यस पछिका दिनहरुमा भने हामी दुईको सहकार्यले पनि कलाकारिता यात्रा सहज हुँदै गयो । बिस्तारै आर्थिक रुपले पनि हामी बलियो हुन थाल्यौँ । मलाई राम्रो याद छ, हाम्रो पहिलो कमाइ ५०० रुपैयाँ थियो । त्यसलाई आधा आधा गर्दा मेरो भागमा २५० रुपैयाँ परेको थियो ।
कसरी भयो यशोदासँ भेट ?
मेरो र यशोदाको पहिलो भेट २०२६ सालमा भएको थियो। त्यस समय म कर्मचारी सञ्चय कोषमा कार्यरत थिएँ । उनी पनि त्यहीँ काम गर्थिन । एउटै अफिस भएकाले हाम्रो भेट दैनिक हुने गर्थ्यो । काम गर्ने क्रममा कुराकानी बाक्लिदै गयो । बिस्तारै एक अर्कासग नजिक भयौँ । ऊ एकदिन अफिस नआउदा पनि मलाई न्यास्रो लाग्न थाल्यो । सायद उनलाई पनि त्यस्तै हुन्थ्यो होला । म हसाइ रहन्थे । उनी ठिक्क बोल्थिन । त्यस बेला म १९ वर्षको थिएँ ।
सायद उमेर त्यस्तै भएर पनि होला राम्रो केटी देखेपछि ओहो ! भन्ने हुन्थ्यो । मनमा कुराहरू खेल्ने गर्थे । उनी भने ठिक्क हाँस्ने, ठिक्क बोल्ने, मेरो कुरामा रमाउने गर्न थालिन् । भित्र भित्रै म उनलाई चाहान थालेको थिएँ । सायद उनी पनि चाहान्थिन । समय त्यस्तै भएकोले पनि होला, म तिमीलाई माया गर्छु भन्ने अवस्था नै आएन कहिले पनि । हामी एक अर्कालाई चाहन्छौं भन्ने कुरा दुवैको व्यवहारले नै बताइदियो । अन्तत हामी बिवाहा गर्ने निर्णयमा पुग्यौं ।
म गायनमा पनि उत्तिकै सक्रिय थिएँ । २६ सालतिर मैलै गीत गाएर पहिलो अवार्ड समेत पाइसकेको थिएँ । त्यसबेलाको चर्चित अखबार राइजिङ्ग नेपालमा मेरो नाम छापिएको थियो । त्यो बेला अखबारमा नाम निस्किनु भनेको निकै ठूलो कुरो थियो । धेरैपछि आएर मात्र कलाकारहरुलाई मान्यता दिने पत्रपत्रिकाहरु निस्किए । पहिलो पटक मेरो नाम छापिएको त्यो पत्रिका म सँग अहिले पनि सुरक्षीत छ ।
कसरी सम्भब भयो अन्तरजातीय विवाह ?
मेरो श्रीमती सुवेदी हो । उनी बाहुनकि छोरी र म नेवारको छोरा भएकाले विवाहको लागि कठिनाइ आयो । त्यो बेलामा त झन अन्तरजातीय विवाह भनेको अपराध सरह मानिन्थ्यो । समाजले एकदमै कुरा काट्ने विषय थियो यो । नाक खुम्च्याउने विषय हुन्थ्यो अन्तरजातीय विवाह । तर हामीले भने आँट गरेर विवाह गर्ने निर्णयमा पुग्यौं । हामीले २०३० सालमा भक्तपुरको सूर्य विनायक मन्दिरमा भागी विवाह गर्याैँ ।
हामीले विवाह गरेको कुरा घरमा पुगेन । तर मेरो परिवारमा भने मैले नभने पनि बाहिरबाट थाहा पाउनु भएको रहेछ । परिवारले थाहा पाउँदा पाउँदै पनि थाहा नै नपाए जस्तो गररिरहनु भएको रहेछ भन्ने पछि मात्र थाहा पाएँ । हाम्रो विवाहमा केही साथीहरू मात्र सहभागी भएका थिए ।
हामीले विवाहमा सानो पार्टी पनि राखेका थियौँ । विवाहपछि हामी घर गएनौँ । न्यूरोडमा ६० रुपैयाँमा कोठा भाडामा लिएर बस्न थाल्यौँ । तर हामीलाई कोठामा त्यसरी धेरै दिन बस्नु परेन । १४ दिन पछि हामीलाइ लिन मेरो फुपूको छोरा आउनुभयो । सायद बुवाले नै लिन पठाउनु भएको थियो । त्यस समय मलाई बुवासग निकै डर लाग्थ्यो त्यही भएर पनि घरमा गएपछि बुवाको अनुहारमा हेर्ने आट गर्न सकिन ।
मेरो बुवाले १५ वर्ष प्रधानपञ्च भएर काम गर्नुभएको थियो । उहाँले गाउँमा झगडा मिलाइदिन काम पनि गर्दै आउनु भएको थियो । यही कारण पनि जति गाह्रो हुनु पर्ने हो त्यति गाह्रो भने भएन । बुवाले आफू आउन नसकेर दाइलाई लिन पठाउनु भएको थियो । कहिले जाउ भैरहेको बेला लिनै आउदा के खोज्छस कानु अँखा भएको थियो । म नजाने कुरै भएन । अनि घरमा विधि विधानपूर्वक नै विवाह गरेर भित्र्याउनु भयो । हामीले नेवारी परम्पराअनुसार फेरि विवाह गर्यौँ । तर यशोदाको माइतीबाट भने सम्पर्कै भएको थिएन ।
मेरो आमा म ६ महिनाको हुँदा बित्नुभयो । मलाई मेरो बुवाले र मेरो फुपूहरुले हुर्काउनु भएको हो । मेरो जीवनमा आमाको भूमिका पनि बुवाले नै निर्वाह गर्नु भएका कारण धेरै दिनसम्म टाढिएर बस्न बुवालाई पनि गाह्रो भएछ र मलाई पनि त्यस्तै भएको थियो ।
छोरा जन्मेपछी बल्ल ससुराली
मेरो ससुराली प्रसङ्ग पनि निकै रोचक बन्यो । विवाह गरेको चार वर्षपछि बल्ल पहिलो पटक ससुराली जान पाइयो । पहिलो पल्ट ससुराली जाँदा हाम्रो छोरा जन्मिसकेको थियो ।
त्यस बेला म त खुशी थिएँ नै त्यो भन्दा धेरै यशोदाको खुशी हेर्दा निकै मज्जा लाग्यो । त्यहाँ निकै चहलपहल थियो । त्यो देखेर मलाई निकै खुशी लागेको थियो ।
त्यस बेला सम्ममा मेरो पनि नाम चलिसकेको थियो । त्यसकारण उहाँहरुलाई पनि ठिकै रहेछ भन्ने भयोहोला सायद । त्यसैले पनि बोलाउनु भएको होला । त्यसपछी भने हाम्रो सम्बन्ध पनि सुमधुर बन्दै गएको थियो । अहिले यशोदा हामीसँग छैनन् । तर पनि उनिसँग बिताएका पलहरु अहिले पनि तजै छन् । म उनलाई अहिले पनि पल पलमा सम्झिरहेको हुन्छु ।
Discussion about this post