विशेष अनलाइन । भक्तपुरस्थित प्रसिद्ध हनुमान मन्दिरमा विशेष पूजा-आजा गर्दै नयाँ नेपाली चलचित्र ‘बम बिहारी’ को शुभमुहूर्त गरिएको छ। बुधबार धार्मिक विधिअनुसार गरिएको पूजासँगै निर्माण टोलीले चलचित्रको छायाङ्कन कार्य औपचारिक रूपमा सुरु गरेको हो। मुहूर्त समारोहसँगै निर्माण पक्ष अब छायाङ्कनको नियमित तालिकामा व्यस्त हुने भएको छ।
डीएमएस मल्लको निर्देशनमा तयार हुन लागेको चलचित्रको सुटिङ काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरू र नेपालगन्जमा गरिने तय भएको छ। चलचित्रको सम्पूर्ण छायाङ्कन यिनै दुई मुख्य स्थानहरूमा सम्पन्न गरिने निर्देशक मल्लले जानकारी दिएका छन्। चलचित्रमा निर्देशक मल्ल स्वयंको लगानी र कथासमेत रहेको छ।
चलचित्रको मूल कथावस्तु विशेषगरी नेपाल र भारतको सीमावर्ती परिवेशसँग जोडिएको छ। यसमा नेपाली आमा र भारतीय बुबाका सन्तानको जीवनकथालाई समेटिएको छ। ‘बम बिहारी’ चलचित्रको मुख्य पात्रको नाम हो, जसको जीवनका उतारचढाव र भोगाइहरूलाई केन्द्रमा राखेर चलचित्रको प्लट बुनिएको निर्देशकले बताएका छन्।
चलचित्रमा वरिष्ठ कलाकार सुरवीर पण्डितका साथै सुमन ज्योति न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुष्कर राउत र सम्राट क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहनेछ।
चलचित्रमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहने छ । चलचित्रको छायाङ्कन रामेश्वर हुमागाईंले गर्ने छन् । चलचित्रको सम्पादन गौतमराज खड्काले गर्नेछन्। निर्माण पक्षले अहिले छायाङ्कनलाई तीव्रता दिए पनि प्रदर्शन मितिबारे भने पछि जानकारी गराउने बताएको छ।









Discussion about this post