विशेष अन्लाइन । नेपाली सिनेमा जगतमा नयाँ प्रयोगका रूपमा हेरिएको साइन्स फिक्सन चलचित्र ‘एक्लो’ ले नेपाल रिलिज हुनुअगावै अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता प्राप्त गरेको छ। आगामी पुस १७ गते (शुक्रबार) बाट नेपालभर प्रदर्शनमा आउन लागेको यो चलचित्रले यही आइतबार अमेरिकाको न्युयोर्कस्थित प्रतिष्ठित ‘म्युजियम अफ द मुभिङ इमेज’ मा आफ्नो प्रिमियर गर्दैछ। यो त्यही विशेष स्थान हो जहाँ हलिउडका दिग्गज स्टारहरू ब्राड पिट र लियोनार्डो डिक्याप्रियोका चलचित्रहरूको स्क्रिनिङ हुने गर्छ, जहाँ पुग्ने ‘एक्लो’ पहिलो नेपाली चलचित्र बनेको छ।
नेपाल प्रदर्शनको एक सातापछि यो चलचित्रले मध्यपूर्वका देशहरूमा पनि आफ्नो जादु छर्ने तयारी गरेको छ। आगामी पुस २४ गतेदेखि यूएई, कतार र बहराइनमा एकसाथ प्रदर्शन हुन लागेको यस चलचित्रको वितरण साथीभाइ इन्टरटेनमेन्टले सम्हालेको छ। ट्रेलरले दर्शकमाझ पैदा गरेको तीव्र उत्साहका कारण खाडी मुलुकहरूमा पनि यसले उत्कृष्ट व्यापार गर्ने अपेक्षा वितरक हरि मोक्तानले राखेका छन्।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा नेपाली पर्दाका चल्तीका स्टार प्रदीप खड्का र बेनिशा हमालको साथमा कविता नेपाली, विजय लामा, सुनिल थापा र दीया पुन जस्ता प्रभावशाली कलाकारहरूको अभिनय रहेको छ। यसमा दिनेश डिसी, सुरजसिंह ठकुरी र बेलायती अभिनेता जेमी बेकनको समेत विशेष भूमिका छ। एनआरएन समूहको लगानी रहेको यस चलचित्रमा अभिनेता प्रदीप खड्का स्वयं पनि निर्माताका रूपमा जोडिएका छन्।
प्राविधिक रूपमा निकै सशक्त मानिएको ‘एक्लो’ को छायांकन बाबु श्रेष्ठले गरेका हुन् भने सम्पादनको जिम्मेवारी रुपेश तामाङले निभाएका छन्। रोहित शाक्यको संगीत र राजु तामाङको द्वन्द्व निर्देशन रहेको यो चलचित्रले गत मे महिनामा सम्पन्न विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा समेत आफ्नो दरिलो उपस्थिति जनाइसकेको छ। कान्समा आफ्नै स्टल राखेर प्रचार गरिएको यो पहिलो नेपाली चलचित्र हो, जसले गर्दा यसको चर्चा अन्तर्राष्ट्रिय बजारमा पहिले नै सुरु भइसकेको थियो।
विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको यो चलचित्रले नेपाली सिनेमाको परम्परागत धारलाई चुनौती दिँदै नयाँ प्रविधि र सोचलाई भित्र्याएको छ। कान्सदेखि न्युयोर्कसम्म पुगेको ‘एक्लो’ ले नेपाली चलचित्रको बजारलाई विश्वव्यापी बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ। नेपाल, अमेरिका र मध्यपूर्वमा हुने यसको प्रदर्शनले नेपाली साइन्स फिक्सन विधाको भविष्य तय गर्ने विश्वास सिने वृत्तमा गरिएको छ।










Discussion about this post