विशेष अनलाइन । बालगायक अशोक दर्जीको संघर्षमय र प्रेरणादायी जीवन यात्रामा आधारित बहुप्रतिक्षित चलचित्र ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर हालै युट्युबमा सार्वजनिक भएको छ। ३ मिनेट १३ सेकेन्ड लामो उक्त ट्रेलरमा दर्जीको वास्तविक जीवनका उतारचढावलाई प्रमुखताका साथ देखाइएको छ। सडकको किनारमा बसेर गीत गाउँदै बटुवाहरूसँग सहयोग माग्ने एक सानो बालकले कसरी सांगीतिक सफलताको शिखर चुम्छ भन्ने हृदयस्पर्शी कथाचलचित्रको मूल आधार हो।
ट्रेलरमा देखाइएअनुसार, एक मनकारी व्यक्तिले उनलाई आश्रय दिएर पढाइका साथै गायन करियरमा समेत मलजल गरेको र समयको क्रममा उनी आफ्नो प्रतिभाले गर्दा देशकै लोकप्रिय गायकको रूपमा स्थापित भएको देखाइएको छ।
यो चलचित्र गायक तथा संगीतकार टङ्क बुढाथोकीको पहिलो निर्देशकीय फिचर हो, जो स्वयं अशोक दर्जीको सांगीतिक यात्राको संरक्षक पनि हुन्। चलचित्रको कथा र संगीत निर्देशन पनि बुढाथोकीकै रहेको छ। निर्माता पक्षले यो चलचित्रलाई ‘हिरोदेखि जिरोसम्मको कथा’ भनेका छन्, जसले दर्जीको जीवनमा आएको आमूल परिवर्तनलाई सङ्केत गर्छ।
ट्रेलरले अशोक दर्जीको व्यक्तिगत संघर्षका साथै काठमाडौँमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रहरूको दैनिक संघर्ष, सपना र पैसाको अभावमा विदेशिनुपर्ने बाध्यताको यथार्थलाई पनि कलात्मक ढंगले प्रस्तुत गरेको छ। यसमा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतका अनुभवी र लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रको कार्यकारी निर्मातामा मिनु शर्मा छिन् भने जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता रहेका छन्। चलचित्रका लागि शिवम् अधिकारीले पटकथा तथा संवाद लेखन गरेका छन्।
अशोक दर्जीले पहिलो पटक गाएको चर्चित गीत ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ को बोलबाटै चलचित्रको शीर्षक राखिएको हो, जुन गीतले उनको जीवनमा ठूलो परिवर्तन ल्याएको थियो। अशोक दर्जीको यो प्रेरणादायी कथाले दर्शकलाई ठूलो ऊर्जा र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतिक्षित चलचित्र ‘मनबिनाको धन’ यही २१ कात्तिक बाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनका लागि आउँदैछ।










Discussion about this post