विशेष अनलाइन। तिहारको रौनकसँगै नेपाली चलचित्र ‘सोल्टिनी’को प्रचार पनि देशभर तातिएको छ। सामाजिक यथार्थ र अन्तरजातीय प्रेमको कथामा बनेको यो चलचित्रको टोलीले हाल पूर्वदेखि पश्चिमसम्म प्रचार यात्रालाई निरन्तरता दिइरहेको छ।
कोशी प्रदेश अन्तर्गत झापा, इटहरी र धरानमा कार्यक्रम सम्पन्न गरेपछि ‘सोल्टिनी’ टिमले अहिले पोखरातर्फ यात्रा थालेको छ। प्रचार अभियानकै क्रममा लक्ष्मी पूजाको दिन इटहरीस्थित फुडशाला क्याफेमा पत्रकार भेटघाट आयोजना गरिएको थियो, जहाँ चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र परीक्षा लिम्बूसहितको टोली उपस्थित थियो।
कार्यक्रममा अभिनेता सपुतले ‘सोल्टिनी’लाई “पूर्वेली समाजको सांस्कृतिक विविधता र जातीय रंगभङ्गीलाई कथात्मक रूपमा जोडिएको अर्गानिक चलचित्र” भनेर प्रस्तुत गरे। उनले मुख्य पात्रको रूपमा आफूले निभाएको भूमिकालाई “जीवनको महत्वपूर्ण अवसर” का रूपमा अनुभूत गरेको बताए।
नायिका परीक्षा लिम्बूले चलचित्रको कथावस्तु उत्कृष्ट रहेको बताउँदै दर्शकले यसलाई आत्मीय रूपमा लिनेसम्मको विश्वास व्यक्त गरिन्। उनले स्क्रिप्ट पढ्नेबित्तिकै “यो कथा समाजकै वास्तविकता झल्काउने भएकाले काम गर्न मन लाग्यो” भनिन्।
पत्रकार भेटघाटमा अभिनेता तथा प्रोजेक्ट हेड सुजन खतिवडा, बालकलाकार शुभम् अधिकारी र हार्दिक पौडेलको पनि सहभागिता थियो।
प्रचार यात्रा अन्तर्गत ‘सोल्टिनी’ टोलीले कार्तिक २ गते झापाको दमकमा देउसी–भैलो र सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो भने ३ गते इटहरीमा पत्रकार भेटघाट र धरानमा देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको हो।
निर्देशक अर्जुन सुवेदी र सहलेखक कुमार भट्टराईले तयार पारेको ‘सोल्टिनी’ मा प्रकाश सपुत, परीक्षा लिम्बू, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्र रेजिना विष्ट र संसार चौलागाईंले निर्माण गरेका हुन् भने रोशन चौलागाईं, वसन्त कटवाल र सुजन अधिकारी सह–निर्माता हुन्। प्लानेट थ्री फिल्म र योलो इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यो चलचित्रले सामाजिक विभेद र अन्तरजातीय प्रेममा देखिने संघर्षलाई पर्दामा सशक्त रूपमा उतार्ने अपेक्षा गरिएको छ।









Discussion about this post