विशेष अनलाइन । लामो समयदेखि प्रतीक्षित नेपाली चलचित्र ‘जारी २: सङ अफ च्याब्रुङ’ को ट्रेलर ‘बासुरी फिल्म्स’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्र सुपरहिट ‘जारी’ को दोस्रो श्रृंखला हो। सार्वजनिक भएको ३ मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले दर्शकमा चलचित्रप्रतिको उत्साहलाई अझै चुल्याएको छ।
ट्रेलरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बीचको जटिल प्रेम सम्बन्धलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। उनीहरूको प्रेममा आउने उतारचढाव र ‘जारी’ प्रथाका कारण सिर्जित तिक्तताले भरिएको सम्बन्धलाई ट्रेलरमा भावनात्मक ढङ्गले देखाइएको छ। ट्रेलरले अघिल्लो भागको कथावस्तुलाई निरन्तरता दिँदै यस भागमा थप सङ्घर्ष, नाटक र द्वन्द्व रहेको सङ्केत दिएको छ।
चलचित्रले विशेष गरी लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथा र नेपालको ग्रामीण भेगको सामाजिक परिवेश, साथै लिम्बू समुदायको सांस्कृतिक पहिचान बोकेको ‘च्याब्रुङ’ बाजालाई केन्द्रमा राखेको देखिन्छ ।
दयाहाङ र मिरुनाका साथै ट्रेलरमा विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, उपेन्द्र सुब्बा लगायत अन्य कलाकारहरूको सशक्त अभिनय र भावनात्मक दृश्यहरूले दर्शकलाई बाँधेको छ।
रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको निर्माण तथा बाँसुरी फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रलाई रमेश ढकाल र प्याट्रिक सुवेदीको सेभेन सिज इन्टरनेसनलले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ।
ट्रेलर सार्वजनिक भएसँगै ‘जारी २: सङ अफ च्याब्रुङ’ प्रदर्शनको तयारीमा रहेको छ। यो चलचित्र आगामी २१ कात्तिक (नोभेम्बर ६) गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बताइएको छ।











Discussion about this post