विशेष अनलाइन । लोकप्रिय गायक तथा संगीतकारबाट निर्देशन र निर्माणतर्फ मोडिएका टंक बुढाथोकीले आफ्नो नयाँ चलचित्र ‘मन बिनाको धन’ को ताजा पोस्टर सार्वजनिक गरेका छन्। शुक्रबार सार्वजनिक गरिएको उक्त पोस्टरमा प्रमुख कलाकार अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झा लगायतलाई देख्न सकिन्छ।
यसअघि सार्वजनिक पहिलो पोस्टरमा भने केवल बालगायक अशोक दर्जी मात्र प्रस्तुत थिए। सामाजिक सन्देश बोकेको यो चलचित्रको कथा स्वयं निर्देशक बुढाथोकीले लेखेका हुन् भने शिवम अधिकारीले पटकथा र संवाद तयार पारेका हुन्।
‘मन बिनाको धन’ आउँदो कात्तिक २१ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रकी निर्माता विष्णु माया मैनाली हुन् भने सपना शर्मा कार्यकारी निर्माताका रूपमा छिन्। साथै जी.पी. संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह–निर्माताका रूपमा संलग्न छन्।

चलचित्रको शीर्षक ‘मन बिनाको धन’ प्रसिद्ध गीतसँग जोडिएको छ । यही गीतबाट बालगायक अशोक दर्जीले आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए, जसमा टंक बुढाथोकीकै संगीत थियो। सो गीतले दर्जीलाई राष्ट्रिय स्तरमा चिनाएको थियो। हाल उनी बुढाथोकीकै संरक्षणमा काठमाडौंमा कक्षा ९ मा अध्ययन गरिरहेका छन्।
चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारी, उत्सव सापकोटा, साम्राज्ञी थापा, विनय अधिकारीलगायत धेरै कलाकारहरुको अभिनय रहेको छ।
छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, सम्पादन मित्र डी. गुरुङ, र मुख्य सह–सहायक निर्देशन नवराज शर्माले गरेका छन्। चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा गर्नेछन्।










Discussion about this post