विशेष अनलाइन । नयाँ नेपाली चलचित्र ‘लज्जावती’ को सोमबार पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु भएको छ । बडादसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर निर्देशक राज बहादुर सानेले चलचित्रको औपचारिक सुरुवात गरेका हुन् । चलचित्रको पहिलो ‘मुहूर्त सट’को निर्देशन भने लेखक प्रदीप भारद्वाजले गरेका थिए ।
पशुपति आर्यघाटमा खिचिएको मुहूर्त सटमा चलचित्रका मुख्य कलाकार मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले अभिनय गरेका थिए । सोही अवसरमा ‘सिटामोल’ चलचित्रका निर्माता विकास राज जोशीले नरिवल फुटाएर शुभसाइत गरेका थिए ।
निर्देशक सानेका अनुसार चलचित्रको सम्पूर्ण छायांकन तालिका ३० दिनको छ, जुन काठमाडौं र यसका आसपासका क्षेत्रमा गरिनेछ । ‘आहा फिल्म्स’ को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन् । यसमा कमल प्रसाद शर्मा र सन्दीप रोकायाले निर्माताको भूमिका निर्वाह गरेका छन् भने दीपक भण्डारी कार्यकारी निर्माता र भीमराज रोकाया सह-निर्माता छन् ।
दिव्यराज सुवेदीले छायांकनको जिम्मा लिएका छन्, जसलाई प्रवीण सुवेदीले सह-छायाकारको रूपमा सहयोग गर्नेछन् । चलचित्रका मुख्य सहायक निर्देशक विशाल बराल हुन् भने मेकअप आर्टिस्ट रवी केसी हुन् ।
चलचित्रमा मुख्य कलाकारका साथै माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरि खड्का लगायतका अनुभवी कलाकारको पनि अभिनय रहने बताइएको छ ।









Discussion about this post