विशेष अनलाइन । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ । दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउन लागिरहेको यो चलचित्रको ट्रेलर शनिबार सार्वजनिक गरिएको हो।
कमेडी स्वादमा प्रस्तुत ट्रेलरले समसामयिक राजनीतिक घटनाक्रमलाई हल्का व्यङ्ग्यात्मक ढंगले उठाएको छ। नेपाली टेलिभिजनको इतिहासमै लोकप्रिय पात्र हरिबहादुर को भूमिकामा फेरि देखिएका हरिवंश आचार्यलाई ट्रेलरमा जीवनका विभिन्न उतारचढावसहित प्रस्तुत गरिएको छ। युवापुस्ताले चाहेको राजनीतिक परिवर्तन र त्यसक्रममा उत्पन्न हुने चुनौतीपूर्ण अवस्थाहरू पनि फिल्मको कथामा जोडिएको देखिन्छ।
चलचित्रमा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने र कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ भने गीतमा आशीष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको स्वर समावेश गरिएको छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन्। कृष्ण बहादुर थापाले छायांकन गरेका दृश्यलाई नकुल खड्काले सम्पादन गरेका छन्।









Discussion about this post