विशेष अनलाइन । नेपाली चलचित्र उद्योगका सुपरस्टार अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘आचार्य’ को छायांकनका लागि भारत पुगेका छन्। मंगलबार काठमाडौँबाट प्रस्थान गरेको टिम हाल पश्चिम बंगाल पुगेको छ।
निखिलसँगै निर्मात्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिजापति, छायांकार मनु बिके, मुख्य सहायक निर्देशक सयनम अधिकारी लगायत टोलीमा सामेल छन्।
चलचित्रको पहिलो चरणको छायांकन भदौ ६ गते (अगस्ट २२) बाट सुरु हुँदैछ। पश्चिम बंगालका डुअर्स, बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा प्रमुख दृश्य खिचिनेछ भने आगामी दिनमा मुम्बई, नासिक, झारखण्ड र नेपालका विभिन्न स्थानमा समेत खिचाइ हुनेछ। छायांकनको कुल सेड्युल ६० दिनको रहनेछ।
चलचित्रमा निखिल नै मुख्य भूमिकामा देखिनेछन्। उनलाई साथ दिन पूर्णिका सिजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया र विशाल पहारी रहनेछन्। साथै बलिउड तथा दक्षिण भारतीय सिनेमामा सक्रिय केही कलाकार पनि सहभागी हुने तयारी गरिएको छ।
चलचित्रलाई निखिलले “विश्वस्तरीय एक्सन चलचित्र” का रूपमा प्रस्तुत गर्ने योजना बनाएका छन्। विशेष कुरा के छ भने यसै फिल्ममार्फत सञ्चिता लुइँटेलले कोरियोग्राफरको रूपमा पनि डेब्यू गर्ने भएकी छन्। नेपाली र हिन्दी भर्सनको गीतमा उनी स्वयंले नृत्य निर्देशन गर्नेछिन्।
यसअघि निखिलले २०१५ मा चलचित्र ‘भैरव’ निर्देशन गरेका थिए। अहिले उनले ‘आचार्य’लाई आफ्नो करियरकै ठूलो सपना पूरा गर्ने कडीका रूपमा लिएका छन्।









Discussion about this post