विशेष अनलाइन । यो दशैं दर्शकका लागि अझ विशेष हुँदैछ, किनकि बहुप्रतीक्षित नेपाली पारिवारिक फिल्म ‘माइतिघर’ अब केवल पर्दामा हेर्ने अनुभवमा सीमित रहने छैन—फिल्मका कलाकारहरूसँगै फिल्म हेर्ने दुर्लभ मौका दर्शकले पाउनेछन्।
फूलपातीको दिन असोज १३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने ‘माइतिघर’ को प्रचार अभियानलाई निर्माताले निकै आक्रामक र अनौठो शैलीमा अघि बढाएका छन्। निर्माता रोहित अधिकारीका अनुसार, यसपालि कलाकारहरू आफैं देशभरका प्रमुख सिनेमा हलहरूमा पुग्नेछन् र दर्शकसँगै बसेर फिल्म हेर्नेछन्।उक्त अभियानबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले लेखेका छन्,
“यसपटक हाम्रो ‘माइतिघर’ टिम – प्रकाश सपुत, धिरज मगर, माग्नेबुढा (केदार घिमिरे), उपासना सिंह ठकुरी, युबराज लामा, बुद्धि तामाङ लगायत – पूर्वदेखि पश्चिमसम्मका हलहरूमा दर्शकसँगै बसेर फिल्म हेर्न आउँदैछन्। पोखरा, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी… कतै छुट्ने छैनौं। आउनुस्, हामी सबै मिलेर दशैं रमाइलो बनाऔं—हामी तपाईँसँगै सिनेमा हलमा!”
यसका साथै, निर्माता अधिकारीले फिल्मको ३० सेकेन्डको मोशन पोस्टर पनि आइतबार सार्वजनिक हुने जनाएका छन्। मिलन तामाङद्वारा निर्देशित तथा रोहित अधिकारी फिल्म्सको ब्यानरमा बनेको ‘माइतिघर’ पारिवारिक भावनाले भरिएको कथा बोकेको फिल्म हो। दशैंको पारिवारिक जमघटमा थप रंग भर्ने लक्ष्यसहित अगाडि बढिरहेको यस अभियानले नेपाली फिल्म प्रचारको शैलीमै नयाँ अभ्यास थालनी गरेको छ ।









Discussion about this post