विशेष अनलाइन । नेपाली सिने क्षेत्रका ‘महानायक’ राजेश हमाललाई नेपाल चलचित्र कलाकार संघले मानार्थ सदस्यता प्रदान गरेको छ। संघले शुक्रबार आयोजित एक विशेष समारोहमार्फत हमाललाई मानार्थ सदस्यताको परिचयपत्र हस्तान्तरण गरेको हो।
संघको विधानअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त र चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई प्रदान गरिने मानार्थ सदस्यताअन्तर्गत हमाललाई यो सम्मान प्रदान गरिएको हो।
मानार्थ सदस्यता हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल (वैरागी), महासचिव सविन श्रेष्ठ, तथा निर्देशक समाजका सचिव देवेन्द्र पाण्डे सहभागी थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष निरौलाले हमालले नेपाली चलचित्रको विकास र अन्तर्राष्ट्रिय पहिचानमा पुर्याएको योगदान अमूल्य रहेको भन्दै यही निष्ठा, समर्पण र साधनाका कारण यो सम्मान प्रदान गरिएको बताए। हमालले संघप्रतिको कृतज्ञता व्यक्त गर्दै चलचित्र क्षेत्रमा संघले खेलेको भूमिकाको प्रशंसा गरे।
नेपाल चलचित्र कलाकार संघ २०४५ सालको भाद्र २३ गते स्थापना भएको थियो। कलाकारहरूको हकहित, सुरक्षासम्बन्धी आवाज उठाउने र सिने क्षेत्रको समग्र उन्नयनमा काम गर्ने उद्देश्यसहित स्थापना भएको संघ अहिले नेपाली चलचित्र कलाकारहरूको एक मात्र छाता संगठनका रूपमा परिचित छ।
संघका महासचिव सविन श्रेष्ठका अनुसार संघमा नेपाली चलचित्र क्षेत्रका सम्पूर्ण कलाकार आबद्ध छन्। कलाकार संघले आफ्नो स्थापना दिवसको अवसरमा भाद्र २१, २२ र २३ गते विविध कार्यक्रम आयोजना गर्ने तयारी गरेको पनि अध्यक्ष निरौलाले जानकारी दिए।









Discussion about this post