विशेष अनलाइन । झन्डै एक दशक लामो अन्तरालपछि नेपाली सिने क्षेत्रका अनुभवी कलाकार गणेश उप्रेती पुनः अभिनयमा फर्किएका छन्। अमेरिका बसाइपछि फिल्मी पर्दाबाट टाढा रहेका उप्रेती अब निर्देशक अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘झरीपछिको इन्द्रेणी’बाट पुनरागमन गर्दैछन्।
अर्जुन घिमिरेको निर्देशनमा निर्माण हुन लागेको यो फिल्म उप्रेतीका लागि निकै विशेष मानिएको छ। फिल्मको कथा नै उनको पात्र वरिपरि घुम्ने बताइएको छ, जसले गर्दा उनी फिल्मका मुख्य भूमिकामा देखिनेछन्। हालै अमेरिकाबाट फर्किएका उप्रेती अहिले काठमाण्डौमा फिल्मको तयारीमा व्यस्त छन् र अभिनय वर्कसपमा सहभागी भइरहेका छन्।
‘झरीपछिको इन्द्रेणी’मा उप्रेतीसँगै निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला, र प्रियाना आचार्य (मुन्नी) जस्ता कलाकारहरूको समेत सहभागिता रहनेछ। सामाजिक विषयवस्तुमा आधारित यो फिल्मको छायांकन ललितपुरस्थित धन्वन्तरी बाराही मन्दिरमा शुभ–मुहूर्त गरेर सुरु हुने जनाइएको छ।
उप्रेतीले सन् २०१६ मा रिलिज भएको फिल्म ‘होमवर्क’मा अन्तिम पटक अभिनय गरेका थिए। उनले आफ्नो फिल्मी यात्रा ‘भाग्य रेखा’बाट सुरु गरेका थिए भने ‘लक्ष्मी पूजा’, ‘दैव’, ‘ए मेरो हजुर’ लगायतका फिल्ममा सशक्त अभिनय गरेका थिए। साथै, उनले सन् २००० मा फिल्म ‘छोरो’को निर्माणसमेत गरेका थिए।









Discussion about this post