विशेष अनलाइन । हिन्दु धर्मसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूको चासोपछि नेपाली फिल्म ‘जनै हराएको बाहुन’ ले आफ्नो शीर्षक परिमार्जन गरेको छ। अब यो फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ शीर्षकमा प्रदर्शनमा आउने भएको छ।
निर्माण पक्षका अनुसार, ‘बाहुन’ शब्द प्रयोगले धर्मीय सम्वेदनशीलता उब्जिन सक्ने भन्दै सम्भावित विवाद टार्नका लागि नाम परिवर्तन गरिएको हो। टिजर पोस्टरसहित नयाँ नाम सोमबार सार्वजनिक गरिएको हो।
पछिल्लो समयको चर्चित फिल्म ‘पूर्णबहादुरको सारंगी’ बाट अत्यधिक चर्चा कमाएका अभिनेता विजय बरालले साइन गरेको यो फिल्म अहिले पोस्ट-प्रोडक्सन चरणमा छ। निर्देशक हिमाल न्यौपानेको निर्देशनमा बनेको यस फिल्ममा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका स्थानहरूमा छायांकन गरिएको हो।
फिल्मले आमा र छोराबीचको सम्बन्ध र भावनात्मक कथा केन्द्रमा राखेको छ। कलाकार विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटा मुख्य भूमिकामा देखिनेछन्।
‘जनै हराएको मान्छे’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। पेपरक्लिप ब्यानरअन्तर्गत निर्मित फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिल्सिना र चुडामणि सिवाकोटी छन्।
Discussion about this post