इटहरी / कुनै समय थियो चलचित्र प्रदर्शनका लागी तछाड मछाड नै हुने र्गथ्यो । हाम्रै सानो चलचित्र नगरी, जाहाँ एकै दिन ४ वटा सम्म चलचित्र प्रदर्शन हुने गरेका उदाहरणहरु प्रशस्तै छन् । सार्वजनिक विदा, दशै तिहार, नयाँ वर्ष लगायतका समयमा त झन् ठुला व्यानरका चलचित्रहरु एक आपसमा प्रतिष्पर्धा नै गर्ने गरेका थिए । तर, आज त्यही चलचित्र नगरीमा चलचित्रले सफल ब्यापार गरेका काहानी एकादेशको कथा जस्तै भएको अवस्था छ ।
कोरोना भाइरसका कारण यतिबेला सबैजस्तो स्थान र क्षेत्रहरु बन्दा बन्दीको सिकार बनेका छन् । नेपालमा दोस्रो पटक कोरोना भाइरसले तनावग्रस्त अवस्था सृजना गरिदिएको छ । यसको प्रत्यक्ष असर नेपाली चलचित्र नगरीलाई नपर्ने कुरै भएन । त्यसो त पहिलो पटकको कोरोना संक्रमण केही न्यून हुन थाले पछी सबै जसो क्षेत्र सामान्य अवस्थामा फर्किसकको भए पनि चलचित्र नगरीमा भने त्यो अवस्था सृजना हुनै पाएन । नेपाली दर्शक राजनितिक जमघट,अन्दोलन लगायतका कार्यक्रमहरुमा निडर भएर सहभागी भए, तर चलचित्र हलसम्म पुग्ने आँट गर्न सकेनन् ।
हुन त ठुला भनिएका ब्यानरहरुले पनि चलचित्र प्रदर्शनका लागी आँट जुटाउन सकेनन् । बरु उनिहरु हिन्दी चलचित्रको मुख ताकेर बस्न थाले । तर पनि चलचित्र नगरी चलमलाउन भने सुरु गरेको थियो । केही चलचित्रहरु धमाधम छायांकनमा निस्किएका थिए । उनिहरुले चलचित्र प्रदर्शन मिति समेत घोषणा गरेका थिए । अब चलचित्र प्रदर्शन घोषणा मितिअनुसार नहुने लगभग पक्का त छदै छ, छायांकनका लागी निस्किएका अधिकांश चलचित्र छायांकन नसकिदै स्थगित भएका छन् ।
यो बर्ष त परिस्थिती सहज बन्ला र चलचित्र रिलिज गरौला भनेर पर्ख र हेरको अवस्थामा रहदै गर्दा २०७७ जस्तै २०७८ पनि नेपाली चलचित्र नगरीका लागी शुभ नहुने लगभग पक्का जस्तै देखिएको छ । अवस्थालाई मध्यनजर गर्दा यो वर्ष पनि चलचित्र प्रदर्शनको माहोल बन्ने नबन्ने टुंगो छैन ।
नेपाली चलचित्रहरु डिसेम्बर फल्स, चिसो मान्छे, ए मेरो हजुर ४, सम्हालिन्छ कहिले मन, कबड्डी ४, चुरीफुरी लगायतका चलचित्र छायांकन सम्पन्न गरेर बसेका छन् । उनिहरुले त चलचित्र प्रदर्शन मितिसमेत सार्वजनिक गरिसकेका थिए । तर, अब नेपाली चलचित्र नगरी पहिलेकै अवस्थामा आउन कति समय लाग्ने हो भगवान बाहेक अरु कसैले आँकलन गर्न सक्ने अवस्था छैन । विश्व बजारमा समेत नेपाली चलचित्र बामे सर्न जुरमुराउदै गर्दा कोरोना भाइरसले पुन उथुल पुथुल बनाइदिएको छ ।
Discussion about this post