इटहरी / चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन् । । ठगी मुद्धा खेप्दै आएका उनलाई अदालतले मंगलवार ‘क्लिन चिट’ दिएको हो । चलचित्र ‘लिलिबिली’ बाट उठेको शेयर रकम नदिएको र नदेखाएको आरोप लगाउदै निर्माता सुदीप खड्का र निर्देशक मिलन चाम्सले उनीविरुद्ध उजुरी दिएका थिए । शाहीले ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ रकम हिनामिना गरेको आरोप लागेको थियो ।
अदालतले ठगी मुद्धामा ‘क्लिन चिट’ दिएपछि शाहीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले न्याय पाएको बताएको छन् । शाहीले न्यायको जित भएको बताउदै अदालतप्रति आभार व्यक्त गरेका छन् । उनले सुदीप खड्का र मिलन चाम्सलाई लक्षित गर्दै लेखेका छन्, ‘सरकारी पदासिन व्यक्तिको अधिकार मिसयूज गरी अरुलाई दुःख दिने काम, अरुलाई विगार्न खोज्नुभन्दा पहिला आफूलाई एकपटक सोच्नुपर्छ भन्ने यो गतिलो जवाफ पनि हो ।’
निर्माता सुदीप खड्का र निर्देशक मिलन चाम्सले उजुरी दिए पछी प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले करिव दुई हप्ता हिरासतमा विताएका थिए।
Discussion about this post