विशेष अनलाइन । जातीय विभेदको कथा प्रस्तुत गर्दै चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौँको वन सिनेमामा कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलर हेर्दा चलचित्रले जातीय विभेद,अन्तरजातीय विवाह र त्यसमा आइपर्ने उतारचडापलाई प्रस्तुत गरेको देखिन्छ । चलचित्रमा अभिनेता आर्यन सिग्देल पुजार (मन्दिरको पुजारी)को भूमिकामा छन् । अभिनेता प्रदीप खड्का मैतबहादुर नामक दलित युवकको भूमिकामा प्रस्तुत भएका छन् भने अभिनेता पल शाह क्रान्तिकारी विचार राख्ने सोच भएको एक पात्रका रूपमा प्रस्तुत भएका छन् । यता अभिनेत्री अञ्जना बराइलीले दलित युवतीको भूमिका प्रस्तुत गर्दा अर्की अभिनेत्री परीक्षा लिम्बू कथित उपल्लो जातको भूमिकामा प्रस्तुत भएकी छन् ।
ट्रेलर हेर्दा यिनै ५ पात्रको वारि परी चलचित्रको कथा घुमाइएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘पुजार सार्की’मा प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारहरूको अभिनय छ।
जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक असर देखाउन खोजिएको छ ।
चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । सुवास भुसालले निर्माण गरेको चलचित्र नेपालमा आरआर फिल्मस र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दै छ । राजेश श्रेष्ठको छायाङ्कन रहेको चलचित्रमा भरत रेग्मीको सम्पादन छ। चलचित्र जेठ १० गतेदेखि प्रदर्शनमा आउँदै छ।
Discussion about this post