विशेष अनलाइन । शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र ‘मनसरा’को टिम यतिबेला पूर्वका हल भिजिटमा छ । चलचित्रकर्मीहरू चलचित्र रिलिजताका काठमाडौँ केन्द्रित हुने गरेकोमा सम्भवतः पहिलो पटक ‘मनसरा’ टिमले प्रचारप्रसार देखी दर्शक भेट्न सम्मका गतिविधिहरूमा पूर्वलाई पहिलो प्राथमिकता दिएको छ । चलचित्रले पनि पूर्वी नेपालका हलमा उत्कृष्ट व्यापार गरिरहेको छ । विराटनगर, इटहरी, धरान,बिर्तामोड र दमकस्थित हलमा चलचित्रले दर्शकको गज्जबको साथ पाएको छ ।
‘मनसरा’ टिम प्रमुख कलाकार सहित इटहरीको इलाईट सिनेमा हलमा शुक्रवार बिहान ११ बजे पुगेको थियो । सोही समयमा चलचित्रकर्मी महासंघ कोशी प्रदेशले ‘मनसरा’ टिमलाई भव्य स्वागत गरेको थियो । ‘मनसरा’ टिमका लागि पूर्वेली दर्शक पहिलो प्राथमिकतामा पर्नु स्वागतयोग्य भएको चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले बताए । ‘मनसरा’ टिमलाई स्वागत गर्न चलचित्रकर्मी महासंघका तर्फबाट अध्यक्ष अरुण कुमार प्रधान सहित उपाध्यक्ष लाखमान योञ्जन, महासचिव दिनेश कोइराला लगायत इलाईट सिनेमा हल पुगेका थिए ।
चलचित्र हेर्दै गर्दा अप्रत्यासित रुपमा कलाकारहरू हलमा आइपुग्दा दर्श उत्साहित भएका थिए । इलाईटमा शुक्रवारको पहिलो शो बाट नै दर्शक भरिभराउ रहेको इलाईट सिनेमा हलका सञ्चालक नवराज केसीले जानकारी दिए । शनिवारका लागि समेत अघिल्लै दिन हाउस फुल बुकिङ भएको केसीको भनाई थियो । इटहरीको अर्को हल क्विएफएक्समा पनि चलचित्र युनिट प्रमुख कलाकारसहित पुगेको थियो । दिनको करिब २ बजे सो हलमा पुग्दा त्यहाँ पनि भरिभराउ दर्शक थिए । त्यसपछि धरानमा अवस्थित फ्रेन्ड्स सिमेमाजका दर्शकसँग साक्षात्कार गर्दै चलचित्र टिम झापा तर्फ लागेको थियो ।
चलचित्र युनिट दमक र बिर्तामोडका दर्शकसँग साक्षात्कार गर्दै शनिवार काठमाडौँ फर्कने तयारीमा छ ।
अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर, हेमन्त बुढाथोकीका साथमा चलचित्रका निर्देशक उपेन्द्र सुब्बाको समेत चलचित्रमा अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रको निर्माता तथा छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।
विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह निर्माता हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रको मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन्। चलचित्रको सम्पादन निमेश श्रेष्ठले गरेका हुन् ।
Discussion about this post