विशेष अनलाइन । सामाजिक र राजनीतिक चेतनाको कथा बोकेको नेपाली चलचित्र ‘बिगुल’ आगामी माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले चलचित्रका केही पोस्टरहरू ‘फर्स्ट लुक्स’ को रूपमा सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो। रमेश कोइरालाको निर्देशन र कल्पना पौडेलको प्रस्तुतिमा तयार भएको यो चलचित्रको कथा र निर्माण दिनेश कोइराला ले गरेका हुन्।
सार्वजनिक तीन पोस्टरमध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर मुद्रामा देखिएकी छिन् । अर्को पोस्टरमा बेनिशासँगै अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित भावमा छन्। निर्माता दिनेश कोइरालाका अनुसार, चलचित्रमा जेनजी पुस्ताले हालै गरेको आन्दोलनलाई कथावस्तु बनाइएको छ। संयोगवश, जेनजी आन्दोलन सुरु हुनुभन्दा चार महिना अघि नै यस विषयमा केन्द्रित रहेर चलचित्रको निर्माण थालिएको थियो, जसले निर्माण पक्षलाई अचम्मित बनाएको छ।

निर्माता तथा कथाकार दिनेश कोइरालाले ‘बिगुल’ मा उठाइएको मूल मुद्दा र पछि जेनजी पुस्ताले उठाएका मागहरू ठ्याक्कै मिलेको बताएका छन्। उनले यो चलचित्रलाई जेनजी आन्दोलनप्रति समर्पित गरिएको जानकारी दिए। कोइराला भन्छन्, “यो चलचित्रले युवा र महिलामा चेतना जगाई भ्रष्टाचार र विकृति उन्मुलन का लागि परिवर्तनको बिगुल फुकेको छ। यसले आम नेपालीको समृद्ध र विकसित नयाँ नेपालको चाहनालाई सम्बोधन गरेको छ।” उनले जागरणको सन्देशसहित पर्याप्त मनोरञ्जनका लागि पनि चलचित्र विश्वभरका नेपालीहरूले हेर्नुपर्ने आह्वान गरेका छन्।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको यो चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकीका साथमा नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल लगायत ठूलो कलाकारहरूको अभिनय रहेको छ।
प्रदीप भारद्वाज र मौनता श्रेष्ठ ले पटकथा र संवाद लेखेका छन्। चलचित्रमा शिव ढकाल को छायांकन, अर्जुन पोखरेल को संगीत र तारा थापा किम्भे को सम्पादन रहेको छ। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले चलचित्र वितरण गर्नेछ।









Discussion about this post