विशेष अनलाइन । छोटो फिल्म ‘द अनटोल्ड स्टोरी’ को इटहरीमा प्रेस शो सम्पन्न गरिएको छ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा सहभागी गराउने उद्देश्य सहित फिल्म निर्माण गरिएको निर्माता प्रकाश सुब्बाले जानकारी दिए । ‘द अनटोल्ड स्टोरी’ को निर्देशन आयुब केसीले गरेका हुन् ।
जम्मा १० मिनेट अवधिको ‘द अनटोल्ड स्टोरी’ मा अन्धविश्वास भित्र रुमलिएका नेपाली समाज भित्रको एउटा विश्वासलाई उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ । फिल्मले द्धन्दका समयमा घट्ने घटनाहरूको चित्रण गरेको छ । जातीय विभेदको कथा प्रस्तुत गरेको छ । आर्थिकरुपमा सम्पन्न र विपन्नको जीवन शैलीलाई प्रस्तुत गरेको छ । इतिहासको कुनै कालखण्डमा पुर्खाहरूले बोलेको कथनलाई प्रस्तुत गरेको छ ।
‘द अनटोल्ड स्टोरी’ छोटो छ तर छोटो अवधिमा भए पनि नेपाली समाजमा भएका विविध घटनाक्रमहरू कलात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको फिल्मका लेखक तथा छायाकार प्रकाश सुब्बाले बताए ।
वरिष्ठ रङ्गकर्मी, चित्रकार तथा मूर्तिकार विक्रम श्रीको प्रमुख आतिथ्ययतामा सम्पन्न प्रेस शो मा कोशी प्रदेशका कलाकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।
इटहरीको सेन्ट्रल प्लाजामा अवस्थित ‘क्युएफएक्स सिनेफ्लेक्स’ मा फिल्म हेर्न उपस्थिति अतिथि तथा पत्रकारहरूले ‘द अनटोल्ड स्टोरी’को खुलेर तारिफ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ रङ्गकर्मी, चित्रकार तथा मूर्तिकार विक्रम श्रीले ‘द अनटोल्ड स्टोरी’ समाजको एउटा झिल्को भएको उल्लेख गर्दै समाजको यथार्थपरक घटनालाई प्रतिबिम्बित गरेको बताए ।
फिल्म हेरेपछि सटिक प्रतिक्रिया दिँदै चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले छोटो समयमा उत्कृष्ट कथावस्तु प्रस्तुत गर्न सफल भएको उल्लेख गरे । उनले समाजमा घटिरहेका तर ओझेलमा पर्ने गरेका कुराहरूलाई देखाउन खोजिएको बताए । निर्माता तथा निर्देशक बिजय सुब्बाले समाजमा हुने गरेका कुरीति तथा बेथितिहरूलाई फिल्मले यथार्थ रुपमा प्रस्तुत गरिएको बताए । यता कलाकार तथा समाजसेवी रितेशजंग खत्रीले आधुनिक समयमा पौराणिक कथामा निर्माण भएको फिल्म हेर्ने अवसर प्राप्त भएको बताउँदै नेपाली समाज कुन सोच र कुन जीवनशैलीलाई अवलम्बन गर्दै आधुनिक समयमा आइपुगेको रहेछ भन्ने कुरा समेत फिल्मले चित्रण गरेको उल्लेख गरे ।
‘द अनटोल्ड स्टोरी’ प्रेम सुब्बा, चन्दा ढुङ्गाना, केशव रायमाझी, कल्पना पाण्डे, आयुब केसी,ममता पौडेल, आइपी भट्टराई, बन्दना चौधरी, नारायण ल्वागुन आदि कलाकारहरूको पनि अभिनय रहेको छ । कोशी भिजन फिल्म्स प्राली इटहरीमा पोस्ट प्रोडक्सन भएको सर्ट फिल्मलाई हेमन तामाङले सम्पादन गरेका हुन् ।
Discussion about this post