विशेष अनलाइन । चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाले तीन दिने चलचित्र पत्रकारिता कार्यशालाको आयोजना गर्ने भएको छ। चलचित्र पत्रकार संघ नेपालको २४ औ स्थापना दिवसको अवसरमा शाखाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सुनसरी शाखाले चलचित्र विकास बोर्डको सहयोगमा तीन दिने कार्यशालाको आयोजना गर्ने घोषणा गरेको हो । शाखाले सोही कार्यशालाको अन्तिम दिन २ जना रङ्ग पत्रकारहरु तथा एक जना कलाकारलाई समेत नगद सहित सम्मान गर्ने घोषणा गरेको छ । आफ्नो पहिलो वार्षिक उत्सव सप्ताह व्यापी कार्यक्रम गरेर भव्यताका साथ मनाएको सुनसरी शाखाले यस वर्ष भने पत्रकारबिचको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य सहित सुनसरीका पत्रकारहरूको उपस्थितिमा केक काटेर २४ औ स्थापना दिवस मनाएको हो ।
यस पटक पनि विविध कार्यक्रमहरू गर्ने तयारी थियो तर तत्काल ३ दिनको कार्यशाला गर्नु पर्ने भएका कारण विविध कार्यक्रमलाई छोट्याइएको हो चलचित्र पत्रकार संघ सुनसरीका अध्यक्ष विनोद विश्वकर्माले भने । सुनसरी शाखाले आउँदो ज्येष्ठ २१,२२ र २३ गते गरी तिन दिन गरिने कार्यशालालाई भने भव्य बनाउने तयारी गरेको छ । सोही कार्यक्रममा कलाकार तथा पत्रकार सम्मान पनि गरिने शाखाका उपाध्यक्ष मनोज दाहालले जानकारी दिए । सुनसरीमा रहेर लामो समय रङ्ग पत्रकारिता गरेका एक जना, तथा पछिल्लो पुस्तमा उत्कृष्ट रङ्ग पत्रकारिता गर्दै गरेका एक जना गरी २ जना रङ्ग पत्रकारहरुलाई नगद सहित सम्मान गरिने छ । यस्तै लामो समय कलाकारिताको क्षेत्रमा योगदान गर्ने एक जना कालाकारलाई समेत सम्मान गरिने शाखाका सचिव सुमन भट्टराईले जानकारी दिए । कार्यशालामा मनोरञ्जन विधालाई केन्द्रित गर्दै आधुनिक प्रविधिको प्रयोगबाट पत्रकारिता गर्न सिकाइने छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ॠषि राईले चलचित्र पत्रकार र अन्य बिटका पत्रकारहरूबिच समन्वय हुन जरुरी रहेको बताए । उनले चलचित्र पत्रकारहरूलाई स्थानीय चलचित्र पर्यटनलाई जोड्न समेत आग्रह गरे । शाखाका सल्लाहकार समेत रहेका महासङ्घका केन्द्रीय सदस्य एवम् निर्देशक भीषण राईले सुनसरीमा चलचित्र पत्रकार संघ सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा चलचित्र विकासको लागि अझै सशक्त ढङ्गले लाग्न आग्रह गरे ।
पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ शाखालाई शुभकामना दिदै चलचित्रको बजार प्रवर्धन गर्न चलचित्र पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा चलचित्र पत्रकारिताको विकासको लागि पत्रकारहरूलाई क्षमता विकास सम्बन्धी विविध कार्यक्रमहरू आयोजना गर्न आग्रह गरे । पत्रकार गोपाल कामतले चलचित्र पत्रकारिता चलचित्रमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै मनोरञ्जन क्षेत्रका विविध कुराहरूलाई पनि रङ्ग पत्रकारहरुले समेट्न आवश्यक रहेको उल्लेख गरे ।
२०७७ फागुन १९ गते स्थापना भएको चलचित्र पत्रकार संघ सुनसरी शाखाले विभिन्न समयमा विविध कार्यक्रमहरु गर्दै आएको छ । स्थापनाको छोटो अवधिमा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला, पत्रकारहरूबिच मैत्रीपूर्ण फुटसल, कलाकार सम्मान लगायतका विविध कार्यक्रमहरू गरिसकेको छ । आउने दिनमा पनि विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिँदै अघि बढ्ने शाखाले जनाएको छ ।
Discussion about this post