बिशेष अनलाइन । मनोरञ्जन नगरीका लागि पुष महिना सामान्य रहयो । पुष महिनामा धेरै गित संगीतले चर्चा बटुल्न सफल भए भने केही नेपाली चलचित्रहरु प्रदर्शनमा समेत आए । कोरोना भाइरसबाट थलिएको नेपाली चलचित्र बजारलाई अन्तराष्ट्रिय चलचित्रहरुले केही राहत दिन सफल रहे । पुष महिनाको अन्तिम दिन अर्थात ३० गतेबाट चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनमा आएको छ भने चलचित्रले हलमा राम्रो शो समेत हात पार्न सफल भएको छ । कोरोना भाइरसको महामारी पुन बढ्न थाल्दै गर्दा प्रर्दशनमा आएको चलचित्र ‘चपली हाइट ३’लाई बिशेष रुपले हेरिएको छ । निर्माण युनिट भने लगानी उठाउनेमा ढुक्क देखिएको छ ।
लामो समय देखि सुनसान देखिएका नेपाली चलचित्र हलहरु पुष महिनामा प्रदर्शनमा आएका अन्तराष्ट्रिय चलचित्रहरु ‘पुष्पा’, ‘स्पाइडर म्यान’, ‘अतरंगी रे’ का कारण भरिभराउ बन्न सफल भएको थियो । यही महिनामा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ ले भने अपेक्षाकृत व्यापार गर्न असफल रहयो । लामो समयको नेपाली चलचित्र हलहरुको अवस्थालाई मध्यनजर गर्ने हो भने पुष महिना नेपाली हल सञ्चालकहरुका लागि पनि केही सुखद महिना बन्न सफल रहयो ।
पुष महिनाको अन्तिम दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट ३’ले क्यूज सिनेमाज्मा ५ शो, कीर्तिपुर सिनेप्लेक्समा २ शो, एफक्यूब सिनेमाज्मा ५ शो, सिडिसी सिनेमाज्मा ५ शो, बिग मुभिजले ४ शो, आइएनआइ सिनेमाज्मा ४ शो पाएको छ । काठमाडौंसहित मोफसलका मल्टीप्लेक्सहरुले २८ गते बाटनै चलचित्रको बुकिङ खुला गरिएको थियो । चलचित्रले औषत सुरुवात गरेको बताइएको छ ।
यस महिनामा केही नेपाली कलाकारहरुले अन्तराष्ट्रिय चलचित्रमा अभिनय गर्न सफल रहे । तेलगु चलचित्र ‘हिटम्यान’मा अभिनेत्री आँचल शर्मा मुख्य अभिनेत्रीका रुपमा देखिने पक्का भएको छ भने अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको साउथ चलचित्र ‘थिरिमाली’ को ट्रेलर यसै महिनाको अन्त्यमा सार्वजनिक भएको छ । यता पुष महिनाको अन्तिम दिन बहु प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४४ सेकेन्डको टिजरमा चलचित्रका मुख्य दुई पात्र अनमोल केसी र सुहाना थापा बीचको प्रेम, रोमान्स र विछोड प्रस्तुत गरिएको छ ।
पुष महिनामा भएको चलचित्र गतिविधिलाई नियाल्दा समग्रमा नेपाली चलचित्र बजार केही हरियाली देखिएको छ । तर, पुन कोरोना भाइरसको तेस्रो लहर सुरु भएका कारण चलचित्र बजारको अवस्था कस्तो रहन्छ भन्ने बिषयमा यसै भन्न सक्ने अवस्था छैन ।
Discussion about this post