बिशेष अनलाइन । नेपाली चलचित्र नगरी हाल पिडामा छ । कोरोना भाइरसले थलिएको चलचित्र बजार जनजिवन सामान्य बन्दै गएपछि केही चलमलाउन थालेको छ । तर, अझै पनि चलचित्र भवन कहिलेबाट सञ्चालनमा आउछन् र निर्माण भइसकेका नेपाली चलचित्रहरु नेपाली दर्शकले कहिलेबाट हेर्न पाउछन् यसै भन्न सक्ने अवस्था छैन ।
नेपनली चलचित्र बजार आफैमा सानो छ त्यस माथि कोरोनाको चपेटाबाट कहिले उम्किने अत्तोपत्तो छैन । कोरोना भन्दा पहिले केही चलचित्रहरुले अन्तराष्ट्रिय बजारमा पनि नेपाली चलचित्रको छाप छाड्न सफल भने भएका छन् ।
नेपालको छिमेकी मुलुक भारतले चलचित्रका माध्यमबाट बिश्वमा छाप छाड्न सफल भएको छ । तर,नेपाली चलचित्र भने भारतिय चलचित्रको अघि आर्थिक साथै प्रबिधिका हिसाबले पनि धेरै कमजोर छ भन्दा फरक पर्दैन । तर, नेपाली चलचित्र नगरीमा केही त्यस्ता कलाकारहरु छन्, जो भारतबाट नेपाल आएर नेपाली चलचित्र नगरीमा आफुलाई स्थापित गर्न सफल भएका छन् ।
नेपाली नै भए पनि भारतमा बसोबास गर्दै आएका धेरै कलाकारहरु नेपाल आएर नेपाली चलचित्रमा सफल कलाकारको दर्जा हासिल गर्न सफल भएका छन् ।
तुलसी घिमिरे
तुलसी घिमिरे नेपाली चलचित्र क्षेत्रका धरोहर हुन् भन्दा फरक पर्दैन । घिमिरेले एक समय नेपाली चलचित्र नगरीलाई नै काधमा बोकेर हिड्ने साहस गरेका थिए । मुम्बईमा सहायक सम्पादक भएर काम गरिरहेका तुलसी नेपाल आउदा नेपालमा मुस्किलले एक दर्जन चलचित्र पनि बनिसकेका थिएनन् ।
निर्देशक घिमिरेको जन्म भारत, दार्जिलिङको कालिम्पोङमा सन् १९५१ जुलाई १५ मा भएको थियो । मुम्बईमा सहायक सम्पादक भएर काम गरिरहेका घिमिरेसँग निर्देशक प्रकाश थापाको भेट भयो । निर्देशक थापा नेपाली चलचित्र ‘सिन्दुर’को एउटा गीत सम्पादनका लागि मुम्बई पुगेका थिए । अन्तत उक्त गीतको सम्पादन गर्ने जिम्मा तुलसी घिमिरेले नै पाएका थिए । सोही गितमा काम गरेपछि घिमिरे नेपाली चलचित्रप्रति मोहित भएका थिए ।
घिमिरेले बनाएको पहिलो नेपाली चलचित्र ‘बाँसुरी’ हो । नेपाली चलचित्र ‘बाँसुरी’को सम्पुर्ण छायांकन भने भारतमा नै भएको थियो । भारत सहित नेपालमा पनि प्रदर्शन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्र नेपालमा भने प्रदर्शन भएन । उक्त चलचित्रमा समावेश भएको ‘हिमाल जलेर ज्वाला भएछ’बोलको गितका कारण उक्त चलचित्र नेपालमा प्रदर्शन गर्न रोक लगाइयो । भारतमा भने उक्त चलचित्र प्रदर्शन भयो र चलचित्रको लगानी सुरुक्षित गर्न सफल भयो । तर,सोचे अनुरुप सफलता भने मिलेन ।
त्यसको केही समय पछि तुलसी एउटा नेपाली चलचित्रको कन्सेप्ट बोकेर नेपाल आएका थिए । नेपाल आएर केही साथीहरुसँग मिलेर सबैसँग पैसा संकलन गरेर उक्त चलचित्र निर्माण गर्ने तयारी गरेका थिए । सोही चलचित्रको नाम थियो ‘कुसुमे रुमाल’ । नेपाल आएर निर्माण गरेको पहिलो चलचित्र ‘कुसुमे रुमाल’ले भने अपेक्षा भन्दा राम्रो व्यापार गर्न सफल भयो । घिमिरेलाई उनका गुरुले कम्तिमा १० वटा नेपाली चलचित्र निर्माण गर्नु भनेर आशिर्वाद दिएका थिए । चलचित्र ‘कुसुमे रुमाल’को प्रदर्श पश्चात भने आफु १० ओटा नेपाली चलचित्र निर्माण गर्न सक्छु भन्ने हौसला पाएका थिए । गुरुको आशिर्वादको कदर गर्दै निर्देशक घिमिरेले निर्माण गरेको दशौँ चलचित्रको नाम ‘दक्षिणा’ राखेका थिए । ‘दक्षिणा’ भन्दा अघि निर्देशक घिमिरेले ‘कोसेली’, ‘दुई थोपा आँसु’, ‘चिनो’ ‘लाहुरे’ ‘अन्याय’ लगायतका चलचित्र बनाएका थिए ।
त्यस पछि पनि निर्देशक घिमिरेले धेरै सफल चलचित्रहरु निर्देशन गरेका छन् । ‘देउता’, ‘बलिदान’,‘दर्पण छाँया’, ‘लहना’, ‘दुई किनारा’, ‘माया त माया हो’, ‘दर्पण छाँया २’, घिमिरेले निर्देशन गरेका सफल चलचित्रहरु हुन् । निर्देशक घिमिरेले धेरै नेपाली चलचित्रहरुको कथा लेखन गरेका छन् भने धेरै चलचित्रको सम्पादन पनि गरेका छन् । निर्देशक घिमिरे निर्देशन, कथा लेखन, सम्पादनका साथै अभिनयमा पनि उत्तिकै सफल मानिन्छन् ।
गोपाल भुटानी
नेपाली चलचित्र नगरीले कहिले पनि बिर्सिन नसक्ने अर्को एउटा नाम हो गोपाल भुटानी । भुटानीको वास्तबिक नाम भने गोपाल बहादुर तामाङ हो । उनले आफ्ना गुरुको निधन पछि उनको सम्मानमा भुटानी लेख्न थालेको बताइन्छ । सन् १९४० को दशकमा मुम्बैबाट चलचित्र नगरीमा प्रवेश गरेका भुटानिले शाही नेपाल चलचित्र सस्ंथानको निर्माणमा बनेको नेपाली चलचित्र ‘मनको बाँध’ बाट नेपाली चलचित्रमा प्रबेश गरेका हुन् । उक्त चलचित्रलाई प्रकाश थापाले निर्देशन गरेका थिए । नेपाली चलचित्रमा पहिलो पल्ट द्धन्दको सुरुवात नै गोपाल भुटानीले गरेका थिए ।
प्रकाश थापाकै निर्देशनमा बनेको अर्को चलचित्र ‘जीवन रेखा’ बाट भुटानी द्वन्द निर्देशनमा स्थापित भएका थिए । चलचित्र ‘जीवन रेखा’को द्धन्द दर्शकले रुचाएपछि त्यसताका निर्माण हुने अधिकांश चलचित्रहरुमा उनले द्धन्द निर्देशन गर्न थाले । द्धन्द निर्देशनमा मात्र नभएर कला निर्देशनमा पनि उनको योगदान अतुलनिय रह्यो । भुटानीको जन्म विस १९८४ भदौ १६ गते इलामको फिक्कलमा भएको थियो । उनको निधन भने २०६७ साल मंसिर ७ गते मंगलबार भएको थियो । भुटानी द्धन्द निर्देशक मात्र नभइ एक कुशल कलाकार पनि थिए ।
सन १९९० सालमा बंगलादेश गई ५ कक्षा सम्मको शिक्षा हासिल गरेपछि सन १९९८ मा चलचित्र खेल्ने उद्देश्य बोकेर बम्बई गएका थिए । जसलाई हाल भने मुम्बै भन्ने गरिएको छ । उनले मुम्बैमा रहेर धेरै संघर्ष गरे । संघर्ष नै मानिसको सफलताको बाटो हो भने जस्तै एकदिन मुम्बै को एम एम टी स्टूडियोमा उनलाई बोलाइएको थियो । उनलाई हिरोइनको डुप्लिकेट गर्नको लागि लगिएको थियो । उनलाई फाईट मास्टरले ‘यो रोल गर्न सक्छस भनेर सोध्यो ?’ उनको सपना भएका कारण पनि उनले सोच्दै नसोची सक्छु भनिदिए । त्यसपछी केटीको लुगा लगाइदिए र यसो–यसो गर्न भनि सिकाइयो ।
सिनमा एक तल्ला माथिबाट ग्रिल तोडेर तल खस्नु पर्ने थियो । सट लड्न पर्ने थियो तर उनी नलडी उभीदिए । उनी भने अनुसार नै तल झरेपछि ताली बज्यो र धेरै राम्रो भयो तर लड्नु पर्नेथियो, फेरी अर्को सट लिने भनी उनलाई सोधियो उनले सहजै हुन्छ भनिदिए । तर, फाईट मास्टरले यहीँ लडे हुन्छ भनेपछि उनी त्यही लडीदिए । ताली बज्यो, मास्टरजीले ५ रूपैया इनाम दिए । हिरो हिरोइनले स्यावासी सहित अँगालो मारे । पछि प्रोडक्सन म्यानेजरले १० रूपैयाँ पारिश्रमिक दिए । त्यो दिन उनका लागि अविस्मरणिय बन्यो । त्यस पछि भने बिस्तारै उनको व्यस्तता बढ्न थाल्यो ।
चेतन आनन्दले निर्माण गरेको चलचित्र ‘हकिकत’मा उनले मुख्य भिलेनको भुमिका निर्वाह गर्ने अवसर पाए । उनले भिलेनको भुमिका निर्वाह गरेको चलचित्र ‘हकिकत’सुपरहिट भयो । उनको व्यस्तता झन बढ्दै गयो । त्यसपछि ‘एडिँका पञ्जावी’, ‘ए रास्ता हे चिन के’, ‘ललकार’ लगायतका चलचित्रहरुमा काम गरे । पछि सुनिल दत्तको चलचित्र ‘मनका मीत’मा दार्जलिङ्गको सेट लगाउनु पर्ने भएकाले आर्ट डाईरेक्टर बाबु भाईले नेपाली भनेर सेकेण्ड असिस्टेन्ट भएर काम गर्ने अवसर दिए । मुम्बैमा उनले गुरु सतिस भुटानीबाट प्रोडक्सन, एक्टिङ्ग, फाईट, आर्ट सिकेका थिए । उनी समय समयमा नेपाल आइरहन्थे । नेपाल आएकै समयमा उनले ‘मनको बाँध’मा काम गरेका थिए । उक्त चलचित्रमा काम गरेपछि नेपाली चलचित्रप्रतिको मोहले उनलाई यतै तान्न थाल्यो । चलचित्र ‘जीवन रेखा’मा काम गरेपछि भने उनले नेपाली चलचित्रमा नै रहेर काम गर्ने सोच बनाए । पछिल्लो समय नेपाली चलचित्र नगरीमा स्थापित भएका द्धन्द निर्देशकहरु राजेन्द्र खड्गी , एन बी महर्जन , राम जनक उनकै चेलाहरु हुन् । उनले नेपाली नागरिकता लिनका लागि धेरै प्रयास गरेपनि उनको उक्त इच्छा भने पुरा हुन सकेन ।
शम्भु प्रधान
नेपाली चलचित्र नगरीमा एक चम्किएको नाम हो शम्भु प्रधान । नेपालका व्यवसायीक चलचित्र निर्देशनमा शम्भु प्रधान सफल मानिन्छन् । प्रधान भारतको दार्जीलिङमा बसोवास गर्दै आएका छन् । एक्काइस वर्षको उमेरदेखि भारतको पूणेस्थित फिल्म इन्स्च्यिुटबाट चलचित्र क्षेत्रमा जोडिएका प्रधानले मुम्बईमा चलचित्र सम्पादनबाट करिअर सुरु गरेका थिए । नेपाली सिने जगतमा थुप्रै हिट चलचित्र दिएका प्रधानले सन् १९८५ मा नेपाली कथानक चलचित्र ‘सम्झना’ निर्देशन गरे । ‘सम्झना’ उनको पहिलो चलचित्र हो ।
चलचित्र ‘सम्झना’ सफल भएपछि उनले नेपाली चलचित्र निर्माणलाई नै अघि बढाउने निर्णय गरे । त्यसपछि उनले ‘स्वर्ग’, ‘बेहुली’, ‘मायालु’, ‘सक्कली नक्कली’, ‘सुनचाँदी’, ‘सम्पत्ति’, ‘नेपाल प्यारो छ’, ‘सपना’, ‘सरस्वती’, ‘सन्न्यास’, ‘आशीर्वाद’, ‘१६ वर्षे जोवन’ लगायतका चलचित्र निर्देशन गरे ।
उनले निर्देशन गरेका अधिकांश चलचित्रहरु प्रधानले नै निर्माण गरेका थिए । फागुन ०५८ मा चलचित्र ‘सन्यास’ प्रदर्शनमा ल्याएपछि उनी करिब १२ वर्ष चलचित्र नगरीबाट टाढिएका थिए । करिब १२ वर्षपछि प्रधान नेपाली चलचित्र ‘रंगबैजनी’ मार्फत चलचित्र नगरीमा फर्किएका थिए । तर, उनले १२ वर्षपछि निर्माण गरेको चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन । त्यसयता फेरि चलचित्र निर्माण÷निर्देशनबाट प्रधान टाढा रहदै आएका छन् ।
निर्देशक प्रधान निर्देशक तथा कलाकार तुलसी घिमिरेका समकालिन साथी हुन् । उनले निर्माण गरेका चलचित्रहरु मध्य पहिलो चलचित्र ‘सम्झना’को हाल सम्म पनि चर्चा हुने गरेको छ । उनले निर्माण गरेका अन्य चलचित्र भन्दा ‘सम्झना’सफल भएको चर्चा हाल सम्म पनि हुने गरेको छ । निर्देशक प्रधानको परिवार नै एक समय नेपाली चलचित्रमा संलग्न थियो । प्रधानकी पत्नी नुतन प्रधान स्क्रिप्ट राइटर तथा अभिनेत्री थिइन् भने छोरी ईश्वरी र छोरा चंकीले बालकलाकारका रुपमा अभिनय गर्थे । प्रधानले पछिल्लो समय चलचित्र नगरीबाट अलग भएसँगै शेयर बजारमा राम्रो पकड बनाएका छन् ।
तृप्ती नाडकर
अभिनेत्री तृप्ती नाडकरको पनि नेपाली चलचित्र नगरीमा धेरै योगदान छ । नेपाली चलचित्रको प्रारम्भ कालमा उनले नेपाली चलचित्रलाई एउटा उचाइ दिन सफल भएकी थिइन् । भारतको दार्जीलिङमा बसोवास गर्दै आएकी अभिनेत्री नाडकर त्यसताका निकै लोकप्रिय बनेकी थिइन् । सन् १९६९ मा दार्जिलिङमा जन्मिएकी तृप्ती ‘सम्झना’ बाट नेपाली चलचित्रमा भित्रिएकी थिइन् । चलचित्र ‘सम्झना’को निर्माण तथा निर्देशन शम्भु प्रधानले गरेका थिए । उक्त चलचित्रमा तृप्तीले अभिनेता भुवन केसीसँग अनष्कृन रोमान्स गरेकी थिइन् ।
उनले अभिनय गरेको पहिलो चलचित्र ‘सम्झना’ले अपेक्षाकृत व्यापार गर्न सफल भएपछि नेपाली चलचित्र नगरीमा उनको डिमाण्ड एकाएक बढेको थियो । उनलाई नेपाली चलचित्र नगरीमा भाग्यमानी अभिनेत्रीका रुपमा समेत चित्रण गर्ने गरिएको छ । किनभने उनले अभिनय गरेका अधिकांश चलचित्रहरुले सफल व्यापार गरेका छन् । चलचित्र‘सम्झना’ले सफल व्यापार गरेपछि उनलाई निर्देशक तुलसी घिमिरेले चलचित्र ‘कुसुमे रुमाल’का लागि अफर गरे । उक्त चलचित्रले पनि नेपाली चलचित्र इतिहासमा सफल व्यापार गर्यो । तृप्तीले अभिनय गरेको एक पछि अर्को चलचित्रले सफल व्यापार गरेपछि उनको डिमाण्ड झन बड्न थाल्यो ।
त्यस समय तृप्तीको स्टारडम यति थियो कि दुई दशकअघि उनको अभिनय करियरको तेश्रो चलचित्र ‘साइनो’मा अभिनय गर्दा उनले डेढ लाख पारिश्रमिक लिएको बताइन्छ । जबकि हालको अवस्थामा पनि नेपाली हिरोइनहरुको औसत पारिश्रमिक एक–डेढ लाख नै छ । ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘साइनो’ हुदै तृप्तीले ‘लाहुरे’, ‘कोसेली’, ‘आमाको काख’, ‘दुनियाँ’, ‘कुसुमेरुमाल–२’ लगायत चलचित्रमा अभिनय गरेकी छिन् ।
दोश्रो बिहे गरेर भारतमा बस्दै आएकी तृप्तीले अब भने आफ्ना छोरा धिरज टोटलानीलाई चलचित्र क्षेत्रमा ल्याउने तयारी गरेकी छिन् । सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘बाबरी’बाट धिरजले नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्ने तयारी गरेको बताइन्छ । अभिनेत्री तृत्ती आफ्ना छोराले पनि नेपाली चलचित्र क्षेत्रमा काम गरुन् भन्ने चाहन्थिन् । उनकै चाहना अनुसार धिरजले नेपाली चलचित्रमा अभिनय गर्न लागेका बताइन्छ ।
निरुता सिंह
एक समयकी चर्चित अभिनेत्री निरुता सिंह पछिल्लो समय नेपाली चलचित्र नगरीमा सकृय छैनन् । केही समय अघि उनले भुवन केसीले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’ र महसञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’मा काम गरेकी थिइन् । २०२९ साल असोज १० गते भारतको दार्जलिङ्गमा जन्मिएकी अभिनेत्री सिंहले एक समय नेपाली चलचित्रमा एकछत्र राज गर्न सफल भएकी थिइन् । निरुताले सन् १९९३ मा निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दक्षिणा’ बाट नेपाली चलचित्र नगरीमा प्रवेश गरेकीे थिइन् ।
नेपाली चलचित्र नगरीकी सुन्दर र सुशिल अभिनेत्रीको उपमा पाएकी अभिनेत्री सिंह हाल पनि भारतमा नै बस्दै आएकी छन् । उनले अभिनय गरेका मनमन्दिर, दर्पण छाँया, बन्धकी, दुई किनारा, दुख, आमाको काख, आफन्त,दुइ पल, माइती, माइली, सन्तान थरी थरीका, आमाको आशिर्वाद, दक्षिणा, आफ्नो मान्छे, आफ्नो घर आफ्नो मान्छे, को आफ्नो को बिरानो, हिरो, पिंजडा,लहना, राम लक्ष्मण लगायतका दुई दर्जन बढी चलचित्रहरु सुपरहिट छन् । नेपाली चलचित्र नगरीबाट केही बिरानो बनेकी अभिनेत्री सिंह मुम्बईमा इन्टेरियर डिजाइनको काम गर्दै आएकी छन् ।
निरुताका पिता निर्देशक तुलसी घिमिरेका साथी थिए । तुलसी घिमिरेले निर्देशन गर्ने धेरैजसो चलचित्रमा तृप्ती नाडकर पछि अभिनेत्री निरुताले स्थान लिएकी थिइन् । तृप्ती नाडकरलाई विस्थापित गर्ने अभिनेत्रीका रुपमा समेत निरुता सिंहको चर्चा हुने गरेको छ । निरुताले चलचित्र ‘दक्षिणा’ बाट अभिनय यात्राको सुरुवात गरेको भए पनि तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छाँया’ बाट उनी सफल भएकी थिइन् । उक्त चलचित्रबाट उनी सबैको नजरमा परिन् । २००१ मा नेपाली चलचित्र ‘दर्पण छाँया’ त्यसयता प्रदर्शनमा आएका चलचित्रहरु मध्ये सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा दर्ता भएको थियो ।
अभिनेत्री निरुता अभिनयसँगै गायनमा पनि रुची राख्थिन् । उनले नेपाल टेलिभिजनका लागि दीपक रायमाझीद्धारा निर्देशित टेली चलचित्र ‘बंश’को शिर्ष गीतमा पहिलो पटक आफ्नो स्वर दिएकी थिइन । पछि उनले ‘दिपशिखा’ नामक एल्बमका लागि पनि एउटा गीत रेकर्ड गराएकी थिइन । उनले गाएको ‘छाडी जाने मायालु’ बोलको एक आधुनिक गीतलाई नेपाली दर्शकले निकै रुचाएका थिए । अभिनेत्री सिंह हालसम्म पनि अविवाहित छिन् ।
उत्तम प्रधान
नेपाली चलचित्र नगरीमा एक समय निकै रुचाइएका कलाकार हुन् उत्तम प्रधान । अभिनेता प्रधानको जन्म भारतको सिक्किममा भएको थियो । सानै देखि कला र मनोरञ्जन प्रति आकर्षित प्रधानको बाल्यकाल पनि सिक्किममा नै बितेको हो । उनले बाल्यकालबाट नै नाटकमा अभिनय गर्ने गरेका थिए ।
उनी बलिउडमा काम गर्ने सपना बोकेर मुम्बै नगएका हैनन् । तर, आफुले सोचेजस्तो सहज नभएपछि केही समयको संघर्ष पछि उत्तम पुन सिक्किम फर्किएका थिए । भाग्यमा भए आफै खोज्दै भए पनि आउछ भने जस्तै सिक्किममा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा उत्तम प्रधानको पनि प्रस्तुती रहेको थियो । उक्त कार्यक्रममा अतिथिका रुपमा निर्देशक तुलसी घिमिरे गएका थिए । अन्तत उनको प्रस्तुती तुलसी घिमिरेको नजरमा पर्यो । निर्देशक घिमिरे टेलिश्रृङ्खला ‘मुक्ति’निर्माणको तयारीमा थिए । उक्त टेलिश्रृङ्खलामा अभिनय गराउनका लागि उत्तमको खोजी गर्दै निर्देशक घिमिरे सिक्किम नै पुगेका थिए । निर्देशक घिमिरेले बोलाएपछि उनी टेलिश्रृङ्खला ‘मुक्ति’मा अभिनय गर्नकै लागि सिक्किमबाट काठमाण्डौ आएका थिए ।
काठमाण्डौ आएपछि टेलिश्रृङ्खला ‘मुक्ति’मा उनको छायांकन सुरु भयो । उनको अभिनयले निर्देशक घिमिरेको मन जित्यो । निर्देशक घिमिरेले सोचेको भन्दा राम्रो अभिनय गरेर अभिनेता प्रधानले आफुलाई प्रमाणित गरे । २०५६ सालमा निर्देशक तुलसी घिमिरेले आफ्नै कथा र निर्देशनमा चलचित्र ‘दर्पण छाँया’ निर्माण गर्ने तयारी गरेका थिए । उक्त चलचित्रमा निर्देशक घिमिरेले अभिनेता उत्तम प्रधानलाई अवसर दिए । चलचित्र ‘दर्पण छाँया’मा उत्तम प्रधानसँगै अभिनेता दिलिप रायमाझी र अभिनेत्री निरुता सिंहको अभिनय रहेको छ ।
नेपाली कथानक चलचित्र ‘दर्पण छाँया’लाई नेपाली दर्शकले अत्याधिक रुचाएपछि यस चलचित्रका मुख्य कलाकार दिलिप रायमाझी, निरुता सिंह र उत्तम प्रधानको चर्चा चलचित्र नगरीमा छाएको थियो । चलचित्र ‘दर्पण छाँया’मा उत्तम प्रधानले दृष्टिबिहिनको भुमिका निर्वाह गरेका थिए । ‘कुसुमे रुमाल’ले बनाएको रेकर्ड लामो समयपछि अन्तत चलचित्र ‘दर्पण छाँया’ले नै तोड्न सफल भएको थियो । चलचित्र ‘दर्पण छाँया’बाट अभिनेता प्रधानले उत्कृष्ट डेव्यु कलाकारको अर्वाड जितेका थिए ।
उनले अभिनय गरेका चलचित्रहरु अजम्बरी माया, मलाई माफ गरिदेउ, उपहार, लहना, इशारा, फेरी अर्को साइनो, यो कस्तो प्रेम, अनमोल, चित्कार, मनको टुक्रा, लेखान्त, मितिनी लगायत चलचित्रले सफलता पाएका थिए । संयोगको कुरा त के भयो भने अभिनेता प्रधानले ‘दर्पण छाँया’ पछिका १३ वटा चलचित्रमा लगातार अभिनेत्री निरुता सिंहसँग नै अभिनय गरेका थिए । पछिल्लो समय प्रधान सिक्किमको चलचित्र विकास बोर्डको अध्यक्ष रहदै आएका छन् ।
Discussion about this post