विशेष अनलाइन । प्रदर्शनमा आएको दुई दिनमै नेपाली फिल्म ‘मोहर’ले उत्साहजनक व्यापार गर्दै दर्शकको मन जित्न सफल भएको छ। शुक्रबारदेखि प्रदर्शन सुरु भएको ‘मोहर’ले पहिलो दिन ठीकठाक व्यापार गरेपछि शनिबारका शोहरू काठमाडौंसहित मोफसलका विभिन्न हलमा बाक्लो दर्शक सहभागिता भेटाएको छ। नेपालगञ्जका हलहरूले हिन्दी फिल्मको शो कटौती गरेर ‘मोहर’का अतिरिक्त शो थप्नुले पनि फिल्मको लोकप्रियता देखाउँछ।
फिल्मका अभिनेता पल शाहले कोशी प्रदेशको बिर्तामोडबाट दर्शक भेट्ने मोफसल यात्रा सुरु गरेका छन्। शनिबार बिर्तामोडको क्विएफएक्स र पाथीभरा सिने प्लाजामा दर्शकसँग भेटघाट गरेका पल शाह आज दमकको डिम्याक्स हल हुँदै साँझ ४ बजे इटहरीको इलाइट सिनेमा हलमा पुग्ने कार्यक्रम रहेको छ।
निर्देशक ओम प्रतिक, नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह शनिबार काठमाडौंका विभिन्न हलमा दर्शकसँग भेटघाट गर्दै धन्यवाद ज्ञापन गरेका थिए। अष्टनारायण हलमा दर्शकको उपस्थिति विशेष रूपमा उल्लेखनीय थियो। कलाकारहरूले दर्शकलाई अभिवादन गर्दै वर्ड अफ माउथबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए।
‘मोहर’ फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यो फिल्म चुम्बन जंग शाहीको लगानीमा बनेको हो। वितरक करण श्रेष्ठका अनुसार, फिल्मले केही महिनादेखिको नेपाली फिल्मको व्यापारिक खडेरी तोड्ने संकेत दिएको छ।









Discussion about this post