इटहरी / भनिन्छ, नेपालीको मन कोमल छ । कसैलाई आपत आइ परेको खण्डमा दिल खोलेर सहयोग गर्नेहरुको लाइन नै लाग्ने गर्छ । स्पाइनल मस्कुलर एट्रोफी नामक गम्भीर रोगबाट ग्रसित बालिका सियोना श्रेष्ठ बचाउ अभियान नेपालमा चलेको लामै समय भइसकेको छ । २५ करोड खर्च लाग्ने बताइएको अवस्थामा करिव १९ करोड भन्दा माथि उठिसकेको छ । यो अभियानमा सहभागिता जनाएर सहयोग गर्नेहरु पनि आइरहेका छन् ।
यसै बिच सियोना श्रेष्ठकै सहयोगार्थ एउटा म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘साइँलीको सम्झना’शिर्षक दिइएको उक्त गितको शब्द गोकर्णप्रसाद ढुङ्गेलले २०५४ सालमा लेखेका हुन् । गीतकार दुङ्गेलका छोरा सङ्केत अगस्तीको सङ्गीतमा तयार गरिएको गितलाई गीतकार दुङ्गेलका नाती श्रेय अगस्तीले गाएका हुन् ।
गितको भिडियोमा रिवाज गौतम, सुशिक्षा पराजुली, कन्चन नेपाल आचार्य, मनसुन पान्डे, श्रेय अगस्ती, साक्षी अगस्ती, नरेश भुर्तेल, प्रदिप खड्का, रिस्ता आचार्य, प्रत्युसा काफ्ले, बेबि एरीको अभिनय रहेको छ । मौलिक कथामा आधारित ‘साइँलीको सम्झना’मा निम्न वर्गिय परिवरको एक युवा गर्भवती श्रीमति र आमालाई घरमा छाडेर बैदेशिक रोजगारीका लागी गएको र घर भन्दा टाढा रहदा परिवारको यादमा तड्पिएको कथा प्रस्तुत गरिएको छ ।
यसलाई सीरीजका रुपमा प्रस्तुत गरिएको गितका सङ्गीतकार सङ्केत अगस्तीले जानकारी दिए । यसको दोस्रो भाग गायिका रचना रिमालको स्वरमा रेकर्ड भइसकेको छ । गायिका रिमालको स्वरमा रेकर्ड भएको गितलाई ‘साइँलाको सम्झना’ शीर्षक दिएर प्रस्तुत गर्ने तयारी भइरहेको छ ।
सुनिता ढुङ्गेलले निर्माण गरेको उक्त गितको भिडियोलाई सङ्गीतकार सङ्केत अगस्तीले नै निर्देशन गरेका हुन् । सुमन मगरको छायांकन रहेको भिडियोको सम्पादन अनिलकुमार महर्जनले गरेका छन् । गीतको म्युजिक भिडियो निर्माणका लागी ट्रिटन इन्टरनेसनल कलेजले पनि सहयोग गरेको गितका गायक श्रेय अगस्तीले जानकारी दिए । ‘साइँलीको सम्झना’ गीतबाट भएको सम्पुर्ण आम्दानी बालिका सियोना श्रेष्ठ बचाउ अभियानमा खर्च गरिने बताइएको छ ।
Discussion about this post