विशेष अनलाइन । अभिनेत्री रेखा थापा झण्डै ८ वर्षपछि निर्देशनको बागडोर सम्हाल्दै चलचित्र ‘माया भनेकै यस्तो होला’ को छायाङ्कनमा फर्किएकी छन्। महाशिवरात्रीको अवसर पारेर घोषणा गरिएको यस चलचित्रको छायाङ्कन सोमबारदेखि काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट सुरु गरिएको हो। चलचित्रको पहिलो दृश्यका लागि मुख्य कलाकारहरू नीति शाह र दिल श्रेष्ठले पहिलो शट दिएका छन्।
यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रहरूको निर्देशन गरिसकेकी रेखाले यसपटक भने आफूलाई पर्दा पछाडि मात्र सीमित राखेकी छन्। विगतका चलचित्रमा निर्देशन र अभिनय दुवै सम्हाल्ने गरे पनि यस चलचित्रमा उनी पूर्ण रूपमा निर्देशनमा मात्र केन्द्रित रहनेछिन्। नेपाली समाजमा घट्ने वास्तविक र मार्मिक घटनाहरूलाई यस चलचित्रको मुख्य विषयवस्तु बनाइएको उनले जानकारी दिएकी छन्।
‘दिया एण्ड अमु चलचित्रस्’ को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा नयाँ र पुराना पुस्ताका प्रतिष्ठित कलाकारहरूको समिश्रण देख्न पाइनेछ। चलचित्रमा नीति र दिलका साथै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ लगायतको अभिनय रहनेछ। पत्रकार ध्रुव लम्सालले तयार पारेको स्क्रिप्टमा आधारित रहेर यो चलचित्रले प्रेमकथाको माध्यमबाट सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्नेछ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रमा सुदीप बरालको छायाङ्कन र प्रशान्त सिवाकोटीको सङ्गीत रहनेछ। रङ्ग पत्रकार राजन घिमिरेले को-अर्डिनेटरको भूमिका निर्वाह गरिरहेको यस चलचित्रलाई आगामी तीजको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। सामाजिक र प्रेमकथामा आधारित यस चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष निकै विश्वस्त देखिएको छ।









Discussion about this post