विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रका स्थापित निर्देशक तथा निर्माता शोभित बस्नेतले चर्चित हाँस्य कार्यक्रम ‘कमेडी दरबार’ को टोलीलाई अस्ट्रेलिया भ्रमण गराउने भएका छन्। यस भ्रमणका लागि चलचित्रकर्मी बस्नेत र कमेडी दरबारका निर्देशक विक्की अग्रवालबिच हालै औपचारिक रूपमा कागजी सम्झौता सम्पन्न भएको छ।
अस्ट्रेलियामा बसोबास गरिरहेका नेपाली समुदायलाई आफ्नै मौलिक हास्यव्यङ्ग्यमार्फत मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो साङ्गीतिक तथा प्रहसन भ्रमणको आयोजना गरिएको हो। यो विशेष भ्रमणमा ‘कमेडी दरबार’ मा आबद्ध अधिकांश चर्चित कलाकारहरूको सहभागिता रहने निश्चित भएको छ, जसले प्रवासमा रहेका नेपालीहरूलाई प्रत्यक्ष मनोरञ्जन दिलाउनेछन्।
आगामी फेब्रुअरी महिनाको मध्यदेखि सुरु हुने यो टुर करिब एक महिनासम्म चल्ने तालिका सार्वजनिक गरिएको छ। निर्देशक बस्नेतका अनुसार अस्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन र न्युक्यासल लगायत करिब ८ वटा स्थानमा भव्य कार्यक्रमहरू आयोजना गरिनेछन्।
यो साङ्गीतिक यात्राको मुख्य प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट रहेको छ भने कार्यक्रमको आयोजना थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्टले संयुक्त रूपमा गर्नेछन्। कार्यक्रमको सम्पूर्ण तयारी र व्यवस्थापनका लागि चलचित्र निर्माता शोभित बस्नेत केही समयभित्रै अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा जुटेका छन्।
पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतले अस्ट्रेलियामा नेपाली कला र कलाकारलाई प्रवर्द्धन गर्न दीर्घकालीन योजना समेत बनाएका छन्। उनीहरूले अबदेखि प्रत्येक दुई महिनामा अस्ट्रेलियाका विभिन्न सहरहरूमा नियमित रूपमा नेपाली सांस्कृतिक कार्यक्रम र चलचित्र प्रवर्द्धनका गतिविधिहरू सञ्चालन गर्ने लक्ष्य राखेका छन्।









Discussion about this post