अस्विन दाहाल । युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा लामो समयदेखि सक्रिय संस्था इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। इटहरीमा सम्पन्न संस्थाको विशेष अधिवेशनले आगामी कार्यकालका लागि ओमकार खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। नयाँ नेतृत्व चयनसँगै संस्थाले थप ऊर्जावान युवाहरूलाई जिम्मेवारी सुम्पिएको छ।
संस्थाको सांगठनिक सुदृढीकरण र रणनीतिक योजना कार्यान्वयनका लागि महत्वपूर्ण मानिने कार्यकारी उपाध्यक्ष (एव्प्) पदमा प्रिन्स अधिकारी र गणेश कोइराला चयन भएका छन्। उनीहरूले अध्यक्षसँग समन्वय गर्दै संस्थाका आन्तरिक र बाह्य गतिविधिहरूलाई थप प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।
त्यसैगरी, उपाध्यक्षको जिम्मेवारीमा चार जना युवा अभियन्ताहरूलाई चयन गरिएको छ। जसमा देव न्यौपाने, आकाश मित्र पोखरेल, स्वस्तिका कार्की र प्रतिमा श्रेष्ठ रहेका छन्। उपाध्यक्षहरूको यो टोलीले संस्थाको तालिम, सामुदायिक सेवा र सदस्य विस्तारका कार्यक्रमहरूलाई स्थानीय स्तरमा अघि बढाउने जिम्मेवारी पाएको छ।
संस्थाको प्रशासनिक कार्य र सञ्चारलाई व्यवस्थित बनाउन सचिव पदमा रेजिना कार्कीलाई नियुक्त गरिएको छ। कार्यसमितिका अन्य सदस्यहरू र सचिवालयबीचको समन्वयलाई मजबुत बनाउँदै संस्थाका उद्देश्यहरू प्राप्त गर्न सचिवको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ। यो नयाँ कार्यसमितिले जेसीजको गरिमालाई अझ उच्च बनाउने विश्वास लिइएको छ।
नवनियुक्त अध्यक्ष ओमकार खतिवडाले पदभार ग्रहण गर्दै आफ्नो कार्यकालमा इटहरी क्षेत्रका किशोर–किशोरी र युवाहरूको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ कार्यसमितिको गठन भए सँगै जेसीजका पूर्व पदाधिकारी तथा सामाजिक अभियन्ताहरूले नयाँ नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना प्रदान गरेका छन्।













Discussion about this post