विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ र पृथक थ्रिलर कथा बोकेको चलचित्र ‘द ब्लू लाइट’ को टिजर सार्वजनिक भएको छ। स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको टिजरले सार्वजनिक भएसँगै दर्शकमाझ निकै कौतुहलता र सस्पेन्स सिर्जना गरेको छ।
करिब १ मिनेट २४ सेकेन्ड लामो यस टिजरमा चलचित्रका मुख्य पात्रहरूबीचको रहस्यमयी सम्बन्ध र घटनाक्रमलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। टिजरको सुरुवातमै अभिनेता अर्पण थापाले अभिनेत्री बेनिशा हमाललाई सोधपुछ गरिरहेको दृश्यले चलचित्रको गम्भीरतालाई प्रस्ट्याउँछ, जहाँ बेनिशाले आफ्नो पात्र ‘माया जि।सी।’ को परिचय दिएकी छिन् ।
चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, श्रृष्टी श्रेष्ठ, सुरक्षा पन्त र ग्रिष्मा गिरी जस्ता कलाकारहरूको सशक्त अभिनय रहेको छ। कलाकारहरूको अभिनय र टिजरको छायांकनले चलचित्र स्तरीय बनेको संकेत गर्दछ।
निर्देशक बि.सी. ग्याट्सबीको निर्देशनमा तयार पारिएको यो चलचित्रमा रहस्यमयी ‘नीलो प्रकाश’ को वरिपरि कथा घुमेको देखिन्छ। टिजरमा देखाइएको पृष्ठभूमि संगीत र दृश्यको संयोजनले दर्शकलाई डार्क थ्रिलरको अनुभूति गराउँछ, जसले गर्दा यो चलचित्र यस वर्षको प्रतिक्षित चलचित्रको सूचीमा परेको छ।
निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिसकेको छ। ‘द ब्लू लाइट’ आगामी २०८२ साल माघ १६ गते (जनवरी ३०) बाट देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ।









Discussion about this post