विशेष अनलाइन । नेपाली रजतपटमा फेरि एकपटक मौलिक कथाले बाजी मारेको छ। निर्देशक दीपक आचार्य ‘काकु’ को निर्देशनमा तयार भएको चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पार गर्दै व्यापारिक क्षेत्रमा नयाँ कीर्तिमान रचेको छ। शनिबार देशभरका ३० भन्दा बढी हलहरूमा प्रदर्शनको ५१औँ दिन मनाउँदै यो चलचित्रले दर्शकको अपार माया बटुल्न सफल भएको हो।
रेकर्ड तोड्ने यात्रा: व्यापार १७ करोड ६० लाख नाघ्यो व्यापारिक हिसाबले ‘परान’ ले ठूला स्टारका महँगा चलचित्रलाई समेत माथ खुवाएको छ। ५१ दिनसम्म आइपुग्दा यसले करिब १८ करोड ६० लाख रुपैयाँको ग्रस व्यापार गर्दै नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो सफल चलचित्रको रूपमा आफ्नो नाम लेखाएको छ। योसँगै यसले ब्लकबस्टर चलचित्रहरू ‘जारी’ र ‘छक्का पञ्जा ४’ को व्यापारिक आँकडालाई समेत पछि पारेको छ।
अहिलेसम्म सर्वाधिक कमाइ गर्नेको सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ४’ र ‘१२ गाउँ’ मात्र ‘परान’ भन्दा अगाडि रहेका छन्।
उत्सवसँगै समाजसेवा सफलताको यो सुखद क्षणमा निर्माण पक्षले तडकभडकभन्दा सेवालाई प्राथमिकता दिएको छ। निर्माता रञ्जित आचार्यको नेतृत्वमा चलचित्र टोलीले बुढानीलकण्ठस्थित ‘पवित्र समाजसेवा नेपाल’ पुगेर त्यहाँ आश्रित ६५ जना अनाथ बालबालिका तथा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ।
आश्रमकी सञ्चालिका दीक्षा चापागाईंले टोलीलाई धन्यवाद दिँदै केही समयअघि आश्रमका बालबालिकाले यो चलचित्र हेरेर निकै मनोरञ्जन र प्रेरणा लिएको स्मरण गरिन्।
बाबु-छोराको मर्मस्पर्शी कथा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको यस चलचित्रले बाबु र छोराको भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाएको छ। यस वर्ष वैशाखयता ५१औँ दिन मनाउने यो तेस्रो चलचित्र हो। यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ ले मात्र यो उपलब्धि हात पारेका थिए।









Discussion about this post