विशेष अनलाइन । शनिबार बेलुकाको इटहरी, किराँत राई यायोक्खा भवनमा हलको बाहिर हलचल नै छुट्टै थियो। पुर्वको इटहरी, धरान तथा आसपासका कलाकर्मीहरुको बक्लो उपस्थितिले माहोल गर्मिएको थियो । कारण थियो— ‘सापित’।
कोशी प्रदेशकै निर्देशक, कलाकार, प्राविधिक टोली र यहाँका लोकेशनमा खिचिएको यो फिल्मको पहिलो प्रिमियर इटहरीमै सम्पन्न भएको हो। निर्देशक रूपक जिमीले सुरुदेखि नै यसलाई फरक बनाउन चाहेका रहेछन्। उनले भने, “हामीसँग क्षमता छ, स्रोत छ, केवल प्रयोग गर्न नजानेका हौँ। सापित मार्फत मैले देखाउन खोजेको भनेको नै प्रदेशमै बसेर पनि फरक, स्तरीय र बजारमा उत्रनसक्ने फिल्म बनाउन सकिन्छ भन्ने हो।”
कोशी प्रदेशमा प्रायः जातीय र सांस्कृतिक कथामा आधारित फिल्म बन्ने गरेका छन्। तर, सापित भने हरर–थ्रिलर जस्ता नयाँ शैलिको प्रयोगसहित प्रस्तुत भएको छ। प्रिमियरमा उपस्थित अधिकांश दर्शकले ‘फिल्म राम्रो बनेको छ, डर र रहस्य दुवै मिसिएको अनुभव भयो’ भन्ने प्रतिक्रिया दिए। कोशी प्रदेशकै धरान–इटहरीका चलचित्रकर्मीहरू पनि शोमा सहभागी थिए। प्रमुख अतिथि नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले प्रदेशकै माटोबाट यस्ता प्रयोगात्मक फिल्म आउनु गर्वको विषय भएको बताए।
फिल्ममा धेरैजसो नयाँ कलाकारलाई मौका दिइएको छ। मुख्य भूमिकामा भारतीय मूलका नेपाली कलाकार सुकचन्द्र थापा, सन्जना त्री खत्री र जियोन तामाङ छन्। उनीहरूसँगै उदय सुब्बा कुरुङ्ग्बाङ, विजय सन्यक सुब्बा, हेम दिलुङ्छा राई, मदन राई, दिनेश कोइराला, मिलन तामाङ, सुरेन्द्र भुजेल, सुरज भुजेल, इक्सा गुरुङ, जुनु बुढाथोकी, कैलाश बि.क. लगायतका कलाकार देखिन्छन्। यी मध्ये धेरैले पहिलो पटक ठूलो पर्दामा अभिनय गरेका हुन्। नयाँ पुस्ताको जोश, गाउँ–टोलको परिवेश, र कथाको डर लाग्दो प्रस्तुति मिल्दा फिल्म अझै जीवन्त बनेको छ।
फिल्मका निर्माता सागर लिम्बू (लोकेन) हुन् भने कार्यकारी निर्माता उदय कुमार सुब्बा रहेका छन्। सहायक निर्देशक मिलन तामाङ हुन्। प्रकाश सुब्बा र देवराज सिग्देलले छायांकन गरेका फिल्मलाई हेमन तामाङले सम्पादन र कलरिङ गरेका छन्। पोस्ट–प्रोडक्सन कोशी भिजन प्रा.लि. मार्फत सम्पन्न भएको हो। फिल्मको अधिकांश दृश्य कोशी प्रदेशकै केरावारी–५ राजारानी, इटहरी र संखुवासभाको खादवारीलगायतका स्थानमा खिचिएको छ।
फिल्मको ट्रेलर मंगलबार सार्वजनिक भइसकेको छ र यसले सामाजिक सञ्जालमा चासो पाएको छ। निर्देशक राईले अब *‘सापित’*लाई नेपालबाहिर प्रिमियर गर्ने तयारी भइरहेको बताएका छन्। उनले भने, “अन्तर्राष्ट्रिय दर्शकमाझ पनि कोशी प्रदेशको कला–संस्कृति र हाम्रो सिर्जना पुर्याउने हाम्रो अर्को लक्ष्य हो।”
प्रदेशकै स्रोत, कलाकार र लोकेशनमा बनेको यस्तो फरक शैलीको फिल्मले कोशी प्रदेशको फिल्म क्षेत्रमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ। प्रिमियरमा देखिएको दर्शकको उत्साहले पनि यसले अगाडि राम्रो बाटो खोल्ने संकेत गरेको छ।









Discussion about this post