विशेष अनलाइन । निर्माता विनोद पौडेलद्वारा निर्माण गरिएको चलचित्र ‘अभिमन्यु’ को पहिलो गीत ‘माली’ सार्वजनिक गरिएको छ। गीतमा दाजु–बहिनीबीचको आत्मीय सम्बन्ध, मायालु जिम्मेवारी र रक्षात्मक समर्पणलाई भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
प्रशान्त सिवाकोटीको शब्द, संगीत र स्वरमा तयार भएको गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ। रक्षाबन्धनको अवसरलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतको भिडियोमा दाजु बनेर बहिनीको रेखदेख गर्ने पात्रको मार्मिक कथा देखाइएको छ।
गीत सार्वजनिक गर्दै निर्माण पक्षले भिडियो प्रतिस्पर्धा समेत घोषणा गरेको छ । प्रतियोगितामा भाग लिन दाजुभाइ दिदीबहिनीले रक्षाबन्धनको दिन राखी बाँधेको भिडियो बनाएर सेयर गर्दै निर्माण युनिटलाई पठाउनुपर्नेछ । उत्कृष्ट तीन भिडियोले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुशान्त गौतमको निर्देशनमा तयार भएको चलचित्रको कथा मुकेश खनालले लेखेका हुन्।गौतमको यो निर्देशनमा डेब्यु चलचित्र हो ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।चलचित्रको सह–निर्मातारमेश चौलागाई र हरि श्रेष्ठ हुन् । चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।









Discussion about this post